• घूस रकमको भौचरसहित शिक्षाका २ सवइञ्जिनियर पक्राउ
    (ईपाटी संवाददाता)


  • काठमाडौं ।  शिक्षा समन्वय इकाई काभ्रेका सवइञ्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाई भोजपुरका तत्कालीन सवइञ्जिनियर नीरजकुमार चौधरीलाई घूस रकम जम्मा गरेको भौचरसहित मंगलबार अख्तियार टोलीले पक्राउ गरेको छ । भगत र चौधरीले काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग लिएको डेढ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक बनेपामा जम्मा गरेका थिए ।


    यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित ७ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने आठौं तहका इञ्जिनियरलाई घूस रकमसहित पक्राउ गरेको छ ।


    कैलालीको राष्ट्रिय माविका तत्कालीन प्रअ लालकुमार झा, पूर्वप्रअ पवनकुमार महतो र व्यवस्थापन समिति अध्यक्ष गेहुप्रसाद डगौराले विद्यालयको लाखौं रकम हिनामिना गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनीहरूले आर्थिक वर्ष २०६६–०६७, २०६९–०७० र २०७०–०७१ मा विभिन्न शीर्षकमा विद्यालयलाई प्राप्त ५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका थिए ।


    अख्तियारले उच्च अदालत नेपालगन्ज इजलासका नायब सुब्बा कृष्णकुमार पाठक, उनका छोरा आदित्यकुमार पाठक र कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अदालतमा विचाराधीन मुद्दा मिलाउने भनी सेवाग्राहीसँग कृष्णकुमारले छोरामार्फत ३ लाख र गडरियाले १ लाख रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।