• सहयोग गर्नेलाई नै चिन्दैनन् विद्यार्थी
    (अन्तैबाट)

  • दाङ । ‘स्कुलमा भाइको नाम कसले लेखाइदियो ?’ कक्षा दुईमा अध्ययनरत शिवु चौधरी प्रश्नको जवाफ नदिई आफूले लगाएको मैलो कटकटिएको पोसाक हेर्दै निहुरिए। घोराही उपमहानगरपालिका–४ चौघेरास्थित गोरक्षरत्ननाथ मावि परिसरमा आइतबार भेटिएका चौधरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा अभिभावकत्व लिइएका बालक हुन्। तर उनलाई थाहा छैन, आफ्नो शैक्षिक अभिभावक को हो ? स्कुलमा कसले भर्ना गरिदियो ? केहीबेर चुप लागेपछि उनले भने, ‘मेरो नाम लेखाइदिने को हो ? म चिन्दिनँ।’

    पोखरेल पत्नी प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले अभिभावकत्व ग्रहण गरेकी कल्पना योगी पनि आफ्नो अभिभावकबारे अनभिज्ञ छिन्। उनले भनिन्, ‘हाम्रो अभिभावक को बनेको हो ? केही थाहा छैन।’ पोखरेल दम्पतीले मात्रै होइन, उनका दुई छोरी आकृति र अंकिता तथा पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मीले पनि गोरक्षरत्ननाथ माविका विद्यार्थीहरूको अभिभावकत्व लिए। तर तवद्यार्थीले आफ्ना शैक्षिक अभिभावक चिन्न सकेका छैनन्। गत वर्षदेखि उनीहरूलाई आवश्यक विद्यालय पोसाक तथा शैक्षिक सामग्री कसैले दिएको हो भन्ने थाहा छ तर ती सामग्री अभिभावकत्व लिएकाहरूबाटै दिइएको हो भन्नेमा बेखबर छन्। ‘हामीलाई पोहोर स्कुल ड्रेस, कापी स्कुलका सरले दिनुभएको हो,’ उनीहरू भन्छन्, ‘यो वर्ष भने दिनुभएको छैन।’

    मुख्यमन्त्री पोखरेल परिवारले गत वर्ष यो विद्यालयका चार विद्यार्थीको अभिभावकत्व लिएको थियो। पोखरेलले कक्षा १ मा अध्ययनरत शिवु चौधरी, उनकी पत्नी सुजिताले कक्षा ४ मा अध्ययनरत कल्पना योगी, छोरी आकृतिले कक्षा ४ कै राजन शर्मा, अर्की छोरी अंकिताले कक्षा १ की आशिका चौधरीको अभिभावकत्व लिएका थिए। मुख्यमन्त्री पोखरेलका स्वकीय सचिव रेग्मीले कक्षा ४ का कमल बुढाको अभिभावकत्व लिएका थिए ।

     पोखरेल परिवारले ती बालबालिकाको पठनपाठनका लागि सहयोग गरिरहेको भए पनि अभिभावक आफू भएको जानकारी दिन सकेका छैनन्। यसै कारण यी विद्यार्थीलाई आफ्नो अभिभावकत्व कसले लिएको भन्ने थाहा छैन । विद्यार्थीले मात्र होइन, उनीहरूका घर–परिवारले समेत यो जानकारी पाउन सकेका छैनन्। ‘हामीलाई केही थाहा छैन, कुन नेताले पढ्न खर्च दिएका छन् ? अभिभावक को बनेका छन्,’ राजनकी हजुरआमा ईश्वरीले भनिन्, ‘अभिभावक भएको भए त बालबालिकाको पढाइ खर्चदेखि अरू चिजमा पनि चासो दिनुपर्ने हो।’

    अभिभावकत्व लिइएपछि यी सबै बालबालिकाको पठनपाठन सहज भए पनि दैनिक जीवनयापन भने असहज छ। ‘उनीहरू सबैजसो बाबुआमाविहीन छन्,’ प्रधानाध्यापक सेमलाल मल्लले भने, ‘यी बालबालिका भोकभोकै पढ्न आउनुपर्ने अवस्था छ।’ भोको पेट विद्यालय आएर कोही पनि विद्यार्थीले लामो समयसम्म पढाइलाई निरन्तरता दिन नसक्ने उनको भनाइ छ। ‘मैले माननीय सुजिता शाक्यज्यूलाई पनि भनेको हुँ, अभिभावकत्व लिइसकेपछि यी बालबालिकाको पढाइ खर्च मात्र नभई उनीहरूको सहज जीवनयापनका लागि पनि सहयोग गरिदिनुप¥यो,’ उनले भने, ‘अभिभावकत्व पाएका यी बालबालिकाको अवस्था निकै दयनीय छ।’

    पोखरेलले अभिभावकत्व लिएका चौधरीकी आमाको सानैमा मृत्यु भयो। बाबु जेलसजाय भुक्तान गरिरहेका छन्। बाबुआमाको सहाराबाट वञ्चित उनी एक दाजु र दिदीसँग बस्छन्। दाजु मजदुरी गर्छन्। ‘दाइ काम गर्नुहुन्छ, उहाँले कमाएको पैसाले खाने–लाउने हुन्छ,’ उनले भने, ‘ठूलो भएपछि त मैले पनि काम गर्ने हो।’

    पोखरेल पत्नी सुजिताले अभिभावकत्व लिएकी कल्पना अनाथ हुन्। स्थानीय समाजसेवी लोकनाथ योगीको परिवारले ती बालिकाको नाम राखिदियो ‘कल्पना योगी’। अहिले उनी दलित वृद्ध दम्पतीको संरक्षणमा छिन्। ऐलानी जमिनमा रहेको सानो टहरोमा बस्दै आएकी उनलाई खान–लाउन निकै समस्या छ। ‘कल्पनाको घरको अवस्था साह्रै दयनीय छ,’ प्रधानाध्यापक मल्लले भने, ‘सुरक्षित घरसम्म छैन, सहयोग मागेर जसोतसो गुजारा चलिरहेको छ।’

    पोखरेलकी छोरी आकृतिले अभिभावकत्व लिएका राजनका हजुरआमा र आमाले मजदुरी गरेर गर्जो टारेका छन्। राजनका बाबु बितेको धेरै भइसक्यो। पतिको निधन भएपछि राजनकी आमा माइतीको आश्रयमा पुगिन्। ‘नातिको लालनपालनका लागि छोरी (राजनकी आमा) र मैले मजदुरी गरिरहेका छौं,’ राजनकी हजुरआमा ईश्वरीले भनिन्, ‘यसरी त कति दिनसम्म पढाउन सकिएला र ?’

    मुख्यमन्त्री पोखरेलका स्वकीय सचिव रेग्मीको अभिभावकत्वमा पढिरहेका कमलको पारिवारिक हालत पनि दयनीय छ। उनका पनि बाबु छैनन्। उनका दाजु गिरिराजले ग्यारेजमा मजदुरी गरेबापत आउने कमाइले परिवार धानिएको छ। ‘मेरो एउटा भाइले ग्यारेजमा मजदुरी गर्छ,’ कमलकी दिदी सविताले भनिन्, ‘त्यही भाइको कमाइले खान–लाउन बल्लबल्ल पुग्छ, खर्च गर्ने पैसा हुन्न, कहिलेकाहीं धेरै अप्ठेरो पर्छ।’ ग्यारेजमा काम गर्ने गिरिराज र सविताले आर्थिक समस्याले गर्दा आफूहरूले पढाइ छोडेको बताए।

    प्रधानाध्यापक मल्लका अनुसार हेभिवेट परिवारले अभिभावकत्व लिएका यी विद्यार्थीको शिक्षा निरन्तर अगाडि बढाउन पढाइ खर्चसँगै उनीहरूको जीवनयापनमा पनि केही सहजता ल्याउनैपर्छ।

      देवेन्द्र बस्नेतले नागरिकमा खबर लेखेका छन् ।