• भूकम्प गएको ४ वर्षमा बल्ल आधा विद्यालयको पुनर्निर्माण सम्पन्न
    (ईपाटी संवाददाता)


  • काठमाडौं । भूकम्प गएको ४ वर्षमा बल्ल भूकम्प प्रभावित ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको पाइएको छ । भूकम्पका कारण मुलुकका ७५५३ विद्यालयका ४८ हजार कक्षाकोठा ध्वस्त भएका थिए ।


    केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का अनुसार हालसम्म भूकम्पले ध्वस्त ४८ हजार कक्षाकोठा मध्ये हालसम्म २२ हजार २१० कक्षाकोठाको निर्माण सम्पन्न भएका छन् । इकाइका अनुसार १४ हजार ४४७ कक्षाकोठा निर्माणाधिन छन् भने २ हजार २४२ कक्षाकोठा निर्माणका लागि छनोट भएका छन् ।


    सरकारले भूकम्प प्रभावित विद्यालयको पुननिर्माण विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था, निर्माण व्यसायी र टर्नकी प्रोजेक्ट मार्फत चार मोडलबाट गरिरहेको छ ।


    इकाइका अनुसार भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरगरी ६ जिल्लामा आपतकालीन विद्यालय पुनर्निर्माण आयोजना मार्फत २३६ विद्यालयहरुको पुनर्निर्माण गरिँदै छ । १४ अर्ब वजेट रहेको यस आयोजना जाइकाको ऋण र १४ प्रतिशत सरकारको लगानीमा सञ्चालन भइरहेको हो । ४८ प्याकेजमा रहेको यस आयोजनाबाट हालसम्म ६५ विद्यालयको निर्माण सम्पन्न भइसकेको ५ भने १६१ विद्यालयहरु निर्माणाधीन रहेका इकाइले जनाएको छ ।


    यसैगरी   इकाइले भूकम्प आपतकालीन सहायता आयोजना मार्फत काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काठमाडौं, भक्तपुरका १५४ विद्यालयमा ५५ प्याकेजमा विद्यालय पुनर्निर्माण कार्य गरिरहेको छ । ९.६ अर्ब वजेट रहेको यस आयोजना नेपाल सरकारको १२ प्रतिशत लगानी र बाँकी एसियाली विकास बैंक र अमेरिकी सहयोग नियोग युएसआइडीको सहयोगमा सञ्चालित छ । यस आयोजना अन्तर्गत ९७ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५७ विद्यालयहरु निर्माणाधिन रहेका इकाइले जनाएको छ ।


    यसैगरी दोलखाा, रामेछाप, गोरखाा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुर मा सञ्चालित भूकम्प प्रभावित समुदायका लागि विपद जोखिम न्यूनिकरण तथा जीवनयापन पुनस्र्थापन परियोजना मार्फत प्रति जिल्ला १ गरी ८ विद्यालयहरुको निर्माण कार्य भइरहेका छन् । जापान सरकारको ८० प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको कुल ८० करोडको यो परियोजनामार्फत हालसम्म २ विद्यालयको निर्माण सम्पन्न भइसकेका छन् भने ६ विद्यालय निर्माणाधिन छन् ।


    ५ अर्ब लगानीमा ७ जिल्लाका ७० विद्यालय पुनर्निर्माण गर्ने भारतसरकारको आयोजना अन्तर्गत हाल ८ विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेका छन् भने ६२ विद्यालयको सर्भे र डिजाइन अन्तिम चरणमा पुगेको केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए ।


    यस्तै करिब ३ अर्ब लगानीमा टर्न कि मोडल अनुसार चाइनाले बनाउने भनिएका ४ जिल्लाका ७ विद्यालयहरुको सर्भे सम्पन्न भइ निर्माण कार्य भइहेका छन् । विपद उत्थानशील विद्यालय आयोजना मार्फत २० अर्बको लगानीमा १४ जिल्लाका १९८ विद्यालय पुनर्निर्माण र १३८ विद्यालयको सवलीकरण गर्ने भनिएकोमा हालसम्म ६७ विद्यालयको निर्माण कार्य सम्पन्न भएका छन् ।


    यसैगरी, गैर सरकारी संस्थाहरुबाट १० अर्ब लगानीमा १२ सय विद्यालय पुनर्निर्माण गर्ने भनिएकामा हालसम्म १८० गैरसरकारी संस्थाबाट ७५८ विद्यालयको निर्माण कार्य सम्पन्न भएका छन् । यस्तै, २१२ विद्यालय निर्माणाधिन रहेका छन् ।


    विद्यालय व्यवस्थापन समिति मार्फत ३१ जिल्लाका ६ हजार विद्यालयको पुनर्निर्माण भइरहेका छन् । यसका लागि हालसम्म १५ अर्ब सकिसकेको छ भने ६ अर्ब खर्च हुने क्रममा रहेको छ ।


    केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का आयोजना निर्देशक श्रेष्ठका अनुसार बजेटको कमी, विद्यार्थी कम भएका विद्यालयहरुको निर्माणमा दुविधा, भौगोलिक विषमता, कर्मचारीको सरुवा, दक्ष कामदारको अभाव र एकाध स्थानमा स्थानीयबाट निर्माणमा अवरोध जस्ता कारणले अपेक्षाकृत रुपमा विद्यालयको पुनर्निर्माण गर्न नसकिएको हो । शिक्षा पत्रकार समूहले आयोजना गरेको विद्यालय पुनर्निर्माणको वर्तमान अवस्था विषय अन्तक्र्रियामा श्रेष्ठले आवश्यक वजेट प्राप्त भएमा यसै आवमा सबै विद्यालय पुनर्निर्माण सक्ने जिकिर गरे ।