२०७६ मंसिर २ गते

कानून मन्त्रालयले सहमति दियो, एकदुई दिनभित्रै शिक्षा नियमावली जारी हुने


काठमाडौं । शिक्षा मन्त्रालयले एकदुई दिनभित्रै शिक्षा नियमावली जारी गर्ने बताएको छ । कानून मन्त्रालयबाट नियमावलीमा सुझाब सहित सहमति भएर आइसकेको जनाउँदै मन्त्रालयले यहि हप्ताभित्र नियमावली जारी हुने स्पष्ट पारेको हो ।

लामो समय प्रतिक्षाको विषय बनेको शिक्षा नियमावली ऐन जारी भएको दश महिना पछि अन्ततः यसैहप्ता भित्र जारी हुने भएको हो ।


नेपाल शिक्षक महासंघको प्रतिनिधिहरुसँगको भेटमा शिक्षामन्त्री धनीराम पौडेलले कानून मन्त्रालयबाट सुझाब सहित सहमति भएर आइसकेकाले मन्त्रालयमा एकदुई दिनमा छलफल गरी यो हप्ताभित्रै मन्त्री परिषदबाट पारित गराइने बताए ।


शिक्षा ऐन लागू भएको नौ महिनासम्म पनि नियमावली नआउँदा शिक्षा क्षेत्र अस्तव्यस्त बनेको भन्दै फागुन २४ गते शिक्षक महासंघले फागुनभित्र नियमावली ल्याउन भन्दै शिक्षामन्त्री पौडेललाई अन्तिम चेतावली पत्र बुझाएको थियो । महासंघले फागुन मसान्तभित्र माग पुरा गर्न पहल नभएमा असहयोगको आन्दोलन गर्ने चेतावनी दिएको थियो ।


मंगलवार सो वारे जानकारी लिन मन्त्रालय पुगेका शिक्षक प्रतिनिधिहरुसँग शिक्षामन्त्री पौडेलले नियमावली शिक्षा मन्त्रालयमा एकदुई दिनमा छलफल गरी यो हप्ताभित्रै मन्त्री परिषदबाट पारित गराउने जिकिर गरेका हुन् ।


शिक्षामन्त्री पौडेलले अझैपनि केहि छुटेका विषयहरु सम्भव भएसम्म थपेर नियमावली मन्त्रीपरिषद् लगेर पारित गराउने स्पष्ट पारेका छन् ।


त्यसै गरी मन्त्री पौडेलले दूर्गम क्षेत्रमा कार्यरत शिक्षकको पोषाक भत्ता, राहत दुर्गम भत्ता, लाइसेनसका कारण रोकिएको शिक्षकहरुको तलब निकासा, गोल्डेन ह्याण्डसेकको लागि अपुग रकम, पिसिएफ शिक्षकको तलब निकासा लागायतका आर्थिक समस्याहरु समाधानका लागि अहिलेको बजेटमा खर्च नभएको शिर्षकबाट रकमान्तर गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा लैजाने शिक्षा मन्त्रालयले तयारी बताएका महासंघका महासचिव तिलक कुँवरले जानकारी दिए ।


उनका अनुसार शिक्षामन्त्री पौडेलले शिक्षा विभागले आन्तरीक प्रतिस्प्रधाका लागि देशभरबाट शिक्षकको तथ्याङ्क संकलनको कार्य पुरा गरिसकेकोले तुरुन्त स्थायी पदपूर्तिका लागि विज्ञापन गरिने पनि बताएका छन् ।


शिक्षा ऐनमा ३७ ठाउँमा ‘तोकिएबमोजिम’ हुने भनिएको छ र सो तोकिएबमोजिमको व्यवस्थालाई नियमावलीमार्फत् सम्बोधन गर्नुपर्ने हुन्छ । नयाँ नियमावली अभावमा शिक्षा निकायहरुले नीतिगत निर्णय गर्न डराउने, विधि र प्रक्रिया पर्खने गर्दा धेरै काम ओझेल पर्दै गइरहेका छन् ।


शिक्षामन्त्री पौडेलले गत २० असोजमा मन्त्रालयको कार्ययोजना प्रस्तुत गर्दै २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएका थिए । शिक्षा मन्त्रालयले गत साउनमा प्रधानमन्त्रीसमक्ष पेश गरेको मन्त्रालयको कार्ययोजनामा पनि चार महिनाभित्र शिक्षा नियमावली ल्याउने जनाएको थियो । शिक्षा ऐन जारी भएको नौ महिना पुग्न लाग्दासमेत शिक्षा नियमावली निर्माण गर्न नसक्नुमा निजी शैक्षिक संस्था सञ्चालकहरुको तीब्र दबाब मुख्य कारण भएको शिक्षा मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

Comments: