• विद्यार्थीको छात्रवृत्ति रकम निकासा गर्न निर्देशन
    (अन्तैबाट)

  • धरान  । बहुअपांग विद्यार्थी अध्ययनरत धरानका तीन विद्यालयको छात्रवृत्ति रकम तत्काल निकासा गर्न सुनसरीका जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद पोखरेलले निर्देशन दिएका छन्। धरान उपमहानगरपालिकाले पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति (बौदिक) बालकल्याण विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीको छात्रवृत्ति रकम रोकिएको विषयमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि जिशिअ पोखरेलले रकम निकासा गर्न उपमहानगरपालिकाका कर्मचारीलाई निकासा गर्न निर्देशन दिएका हुन् ।

    उनले सोमबार तीनवटै विद्यालयको निरीक्षण समेत गरी जानकारी लिएका छन्।विद्यालयको निरीक्षण पश्चात् जिशिअ पोखरेलले धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौत्तम र श्रोत व्यक्ति खेम सुवेदीलाई तत्काल तीनवटै विद्यालयको छात्रवृत्ति रकम निकासा गर्न निर्देशन दिएका हुन्।

    श्रोत व्यक्ति सुवेदीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेल विदामा काठमाडौं गएका कारण छात्रवृत्ति रकम निकासा रोकिएको जानकारी दिएका छन्।

    धरान उपमहानगरपालिकाका कर्मचारीले पाँच महिनाको छात्रवृत्ति रकम निकासा नगरेका कारण आवासीय सुविधासहित बसोवास गर्दै आएका विद्यार्थीलाई दैनिक खाना खाजा खुवाउन समस्या भएको विद्यालयले जनाएको छ।


    रत्नप्रसाद आचार्यले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।