२०७६ भदौ ३० गते

निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी

 

सल्यान । जिल्लामा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेका छन् । पछिल्लो समय अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरूको संख्यामा कमी हुन थालेपछि जिल्लाका विभिन्न विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेका हुन् ।

सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कँदै जानु र अंग्रेजी माध्यमबाट पढाइ नहुनुजस्ता कारण देखाउँदै अभिभावकले आफ्ना छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँदै आएका छन् । यसरी निजी विद्यालयतर्फ अभिभावकको मोह बढ्दै गएपछि अहिले जिल्लाका विभिन्न सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ ।

त्रिभुवन जनमाद्यमिक विद्यालय ८ कक्षामा पढ्ने विद्यार्थी नवीन थापाले आफूले पहिले निजी विद्यालयमा पढ्ने गरेको तर अहिले सरकारीमा पढ्ने बताए । ‘म पहिलो निजी विद्यालयमा पढ्थें तर निजीभन्दा सरकारी विद्यालयको पढाइ राम्रो हँुदै गयो, अंग्रेजी माध्यमबाट पठनपाठन पनि सुरु भयो, अहिले सरकारी विद्यालयको पढाइ राम्रो छ,’ उनले भने ।

विद्यार्र्थी संख्या कम हुँदै गएपछि शिक्षाको गुणस्तर वृद्धि गर्न र दक्ष विद्यार्र्थी उत्पादन गर्न विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको लुहापिङमा रहेको त्रिभुवन जनमाद्यमिक विद्यालयका प्रधानाध्यापक माधव जीसीले बताए । उनले भने, ‘अहिले अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेपछि विद्यार्र्थीको संख्या थपिएको छ ।’ यससँगै शिव, देउराली तथा शिवजन माद्यमिक विद्यालयलगायत दर्जन बढी विद्यालयले अहिले अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेका छन् ।

सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ नहुँदा यहाँका अभिभावकले महँगो शुल्क तिरेर निजी विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न थालेका थिए । तर, सामुदायिक विद्यालयमा नै अंग्रेजीमा पढाइ हुन थालेपछि उनीहरूले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गर्न सुरु गरेका छन् ।

अंग्रेजी माध्यममा सबैको बढी मोह भएकाले सबै सामुदायिकमा सञ्चालन गर्दा बालबालिकाको भविष्य उज्ज्वल बन्ने र सामुदायिक विद्यालयका बालबालिका नघट्ने शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

राजधानी दैनिकमा खबर छ ।

Comments: