२०७६ असोज २ गते

निजी छाडेर सरकारीमा


बाँके  । बाँकेको जानकी गाउँपालिका ६ पिप्रहवाका अभिभावकले बालबालिकालाई निजी विद्यालय छुटाएर सामुदायिकमा भर्ना गरिरहेका छन् । चर्को शुल्कका कारण नभई सामुदायिकको महत्त्व बुझेर यता ल्याएका हुन् । भर्ना अभियानका क्रममा पिप्रहवा टोलका बालबालिका स्थानीय हनुमान प्राविमा पढ्न जान थालेका छन् । तीमध्ये एक हुन् सलिमअली तेली । उनले छोरा आबिदअली तेलीलाई हनुमान प्राविमा कक्षा ५ मा भर्ना गरेका छन् ।

‘सामुदायिकमा पनि अंग्रेजी पढाइ हुन्छ । पढाइ अभिभावक र बच्चामा भर पर्ने विषय हो,’ उनले भने, ‘सरकारी भनेको सरकारी हो । त्यसको महत्त्व बुझेर सामुदायिकमा भर्ना गरेको हुँ ।’ त्यस्तै पिप्रहवाकै रहिस नाउ कक्षा ३ मा भर्ना भए । उनी पनि नजिकै रहेको निजी विद्यालयमा पढ्न जान्थे । स्थानीय इस्तियाकअलि तेलीले छोराहरू नुरआलम तेलीलाई सामुदायिकमा कक्षा २ र सोनु तेलीलाई कक्षा १ मा भर्ना गरेका छन् । इस्तियाकले सुरुमा नजिकैको निजी विद्यालय भर्ना गरेका थिए । उनका अनुसार विद्यालय समयबाहेक नानीबाबुलाई घरमै पढाउन सक्ने हो भने पढाइमा सुधार आउँछ ।

‘सामुदायिक विद्यालयको पढाइलाई सरकारले पनि बढी महत्त्व दिएको छ । तर हामीले त्यसको बेवास्ता गर्दै आएका छौं,’ उनले भने, ‘बालबालिकाको पढाइ कमजोर हुनुमा शिक्षकको मात्रै कमजोरी नभई अभिभावकको पनि उत्तिकै छ ।’ पिप्रहवास्थित हनुमान प्राविका प्रअ कैलाशनाथ यादवले निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना गर्न धेरै आएको बताए । उनले सरकारी विद्यालयको महत्त्वबारे अभिभावकले बुझदै गएको जनाए ।

जिल्ला शिक्षा समन्वय इकाइका निमित्त अधिकारी गार्खबहादुर थापाले यो वर्षको नयाँ शैक्षिकसत्रमा धेरै बालबालिका निजी छाडेर आएको दाबी गरे । उनका अनुसार पछिल्लो समय बाँकेका सरकारी विद्यालयको पढाइमा सुधार आएको छ । ‘चालु शैक्षिकसत्रमा कति विद्यालय भर्ना भए त्यसको अभिलेख संकलन भइरहेको छ,’ उनले भने, ‘अभिलेखको काम सकिएपछि निजीबाट सामुदायिकमा भर्ना हुनेको संख्या यकिन हुनेछ ।’ स्थानीय तहले आफ्ना मातहतका विद्यालयलाई भर्ना हुने वा नहुने बालबालिकाको तथ्यांक संकलनका लागि जिम्मा दिएका छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: