• नेपाली नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो
    (ईपाटी संवाददाता)


  • काठमाडौं । नेपालको पहिले भू–उपग्रह ‘नेपालीस्याट–१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न शुरु गरेको छ ।


    अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । अमेरिकी अन्तरिक्ष यात्री निक हेग नेतृत्वको ६ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं ? भनेर सोधेको प्रश्नमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गो भनेपछि उक्त अन्तरिक्ष टोलीले ‘नेपालीस्याट–१’ छोडेको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटमा यसलाई अन्तरिक्षमा छाडिएको हो ।


    ‘नेपालीस्याट–१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा २ पटक नेपालको आकाशमा आउनेछ ।

    यसले तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । मौसमी सूचनाहरु पनि दिनसक्छ ।

    यो जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) ले तयार गरेको हुन् । यसलाई वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनिया राज्यमा रहेको अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

    ‘नेपालीस्याट–१’ १० सेन्टिमिटर लम्बाई,  चौडाई र उचाई छ । यसको तौल एक किलो तीन सय ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।



    मन्त्री पोखरेलले स्याटलाइन बनाउने मास्के र श्रेष्ठ दुबैलाई धन्यवाद दिए । साथै सहयोग गर्नेहरूप्रति अभार प्रकट गरेका छन् । कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि उपस्थित थिए ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भने  नेपालले भविश्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव हासिल हुने बताएको छ ।