• किताब बोक्ने काँधमा दाउराको भारी
    (अन्तैबाट)

  • रोल्पा । तल बजारमा रहेको सुर्योदय माविमा पढाई चल्दै थियो। सँगैका साथि कक्षा कोठामा पढ्दै थिए। तर अभावमा जीवन चलाउने केही विद्यार्थीहरु भने डोकोमा दाउरा बोकेर उकालो चढ्दै थिए। विपन्नताका कारण घरायसी समस्याले कामकाज धान्नका लागि आजपनि विद्यार्थीहरु कक्षा कोठामा अनियमित हुने गर्दछन्। प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रले पनि रोल्पामा धेरैको दिनचर्या फेरीन सकेको छैन्  ।

    सानै छँदा बुबाको मृत्यु भएका रोल्पा मिझिङका ९ वर्षीय होमे घर्ती बिदाको दिनमा मात्र नभएर घरमा काम पर्यो भने अन्य समयमा पनि विद्यालय जादैनन्। ‘बिदाको दिनमा त सधै कामले फुर्सद हुँदैन। कहिलेकाँहि त स्कुल छोडेर भए पनि घाँस दाउरा गर्न जानुपर्छ।’ कक्षा ३ मा पढ्ने घर्ती जस्ता धेरै विद्यार्थीहरुले समय समयमा विद्यालय छोड्ने गर्दछन। ‘घरमा चलाउने दाउरा हो। घरको काम पनि त गर्नु पर्यो। पढाई त त्यस्तै हो भोली गएपनि हुन्छ।’, उनिसँगै दाउराको भारी बोकेका कक्षा ४ मा पढ्ने मिझिङ कै ११ वर्षीय युबराज माझिलाई पनि बिद्यालयमा पढाई छुटेकोमा कुनै चिन्ता छैन। ‘बुवा आमाले नै दाउरा गर्न जा भन्नु भएको हो। स्कुलमा त सधै पढाई हुन्छ नि। पढाई पनि यस्तै हो। पढे पनि नपढे पनि फेल भईदैन क्यारे।’ ग्रेडिङ प्रणालीका बारेमा गलत ब्याख्या बुझेका युबराजले भने ‘दाउरा जाँदा पढाइ छुट्छ। यस्तै हो सर जीन्दगी चल्छ।’ पढाई छुट्नुमा खासै चित्त नदुखाए जस्तो गरि उनले भने।

    केहि दिन अगाडि सुनिल स्मृति गाउँपालिकाले शिक्षा सम्बन्धी महत्वकांक्षी योजना ल्याएको थियो। गाउँपालिकाले कक्षा १२ सम्म अनिवार्य शिक्षा गर्छौं भनेको भर्खरै हो। तर त्यहि गाउँपालिकाका बालबालिकाहरु कक्षा छोडेर घर चलाउन दाउरा बोक्न जाने गरेका छन्। बालबालिका विद्यालय जान नसक्नुको कारणको खोजि नगरिनुको परिणाम विद्यार्थीहरुले कक्षा छोड्ने गर्दछन्।

    सुनिल स्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार यस गाउँपालिका भित्र अध्ययन गर्ने हरेक विद्यार्थीहरुले अनिवार्य कक्षा १२ उतिर्ण गर्नुपर्ने छ। यदि विद्यार्थीहरुले कक्षा १२ उतिर्ण नगरि पढाइ छोड्ने गरेको पाइएमा गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौति गरिने छ। उनी भन्छन, ‘यदि कसैको घरमा आर्थिक अवस्था कमजोर छ र पढ्न सक्ने वातावरण छैन भने वडा, गाउँपालिकामा निवेदन पेश गरेमा हामी कक्षा १२ सम्म पढाउने जिम्मा लिने छौ।’

    विद्यार्थीहरुले विद्यालय छोडेकोमा शिक्षकहरु पनि दिक्क छन्। ‘कोहि घर धानेर बस्छन, उमेल अलि भयो भने कोहि भारततीर मजदुरी गर्न जान्छन्। झनै ठुलो समस्या ईटाभट्टामा जानु पनि छ’, सुर्योदय माविका प्रअ बेगमबहादुर कवरले भने, ‘भर्ना भएका तर घरायसी कामले विद्यालय नआउने पनि प्रशस्तै हुन्छन्। शैक्षिक सुधारका लागि चुनौती भएको छ। यो समस्या समाधानका लागि कसैले कुनै पहल गरेका छैनन्।’

    रोल्पामा कति बालबालिका विद्यालय बाहिर छन् भन्ने आधिकारीक तथ्याङ्क कोहि सँग पनि छैन। त्यसै गरि विद्यालय भर्ना भएका अनियमित विद्यार्थीको लेखाजोखा त झन् कतै हुने गरेको छैन। विद्यार्थी विद्यालय नआउनुको कारण शिक्षकले पनि बुझ्ने प्रयास गर्दैनन् भने नीति नियम बनाएर घर छेउमा शासन गर्नेगरि निर्वाचित भएकाहरुले पनि कुनै चासो दिने गरेका छैनन् ।

    दिनेश सुवेदीले नागरिक दैनिकमा खबर लेखेका छन् ।