• गाउँपालिकाको अनुदानमा कक्षा ११ को पढाइ शुरु
    (राजन रावत/हुम्ला)


  • क्षेत्रफलका हिसाबले नेपाल कै ठूलो नाम्खा गाउँपालिकाले यसै शैक्षिक सत्रबाट अनुदानमा कक्षा ११ को पढाइ शुरु गरेको छ । कक्षा दश उत्तीर्ण पछि विद्यार्थीहरुले माथिल्लो कक्षा अध्ययन गर्न दुई देखि तीन दिन पैदल हिडेर डेरामा बस्नु पर्ने बाध्यताबाट मुक्ती दिन कै लागि गाउँपालिकाले घरछेउ मै रहेको बिद्यालयमा अनुदानमा दिएर कक्षा ११ सम्मको पठाइ शुरु गरेको हो ।


    पछिल्लो समय नाम्खाका विद्यार्थीहरुमा पनि अध्ययनमा चासो बढ्न थाले पछि गाउँ कै विद्यालयमा ११ कक्षा पढ्नका लागि पालिकाले बजेट अनुदान दिएको अध्यक्ष बिष्णु लामाले बताए । कक्षा ११ को पठन पाठन शुुरु भएपछि  आर्थिक श्रोत कमजोर भएका विद्यार्थी र अभिभावकलाई सहज भएको उनले जानकारी दिए ।


    कक्षा १० सम्म पढाइ हुने महाबौद्ध मावि याल्बाङ्गमा यसै शैक्षिक सत्रबाट कक्षा ११ सम्म पढाइ हुने गरि अनुमति मात्र होईन अनुदान समेत दिएर पढाइ शुरु  भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले जानकारी दिए ।


    गाउँपाकिलाको भुगोल ठुलो भए पनि गाउँपालिका भरि एक मात्र मावि भएको कारण उक्त विद्यालयबाट कक्षा दश उत्तीर्ण विद्यार्थीहरुमा हुने खानेले काठमाडौं र अलि ठिकैले सदरमुकाम सिमकोटमा आएर पढ्नु पर्ने र कमजोरले माथिल्लो पढाइनै छोडनु पर्ने भए पछि गाउँपालिकाले २१ लाख अनुदानै दिएर पढाइ शुरु गरेको उनले बताए ।


    यसले गाउँपालिकाका पहिलो एघार पढाई हुने बिद्यालय सञ्चालन आएकोले पनि स्थानीयमा सहजता छाएको छ । यो वषदेखि पढाइ शुरु भएको कक्षा ११ का लागि दिइएको अनुदान रकमबाट दुई जना शिक्षक नियुक्त गरिएको अधिकृत नेपालीले जानकारी दिए ।


     पहिलो वर्ष १५ जना विद्यार्थी भर्ना भएको कक्षा एघारमा मानविकी तथा सामाजिक शास्त्र संकायको पढाइमा विद्यार्थीले अंग्रेजी, गणित, नेपाली विषय बढ्न पाएका छन् । यो लगत्तै अर्को वर्ष कक्षा १२ पनि शुरु हुने विद्यालयले जनाएको छ ।


    घर नजिकैको बिद्यालयमा कक्षा एघारको पढाइ पढ्न पाएपछि हाल अध्ययन गर्दै आएका विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।


    यसै बीच नाम्खा गाउँपालिकाले अर्को कृषितर्फको प्राविधिक धारको विद्यालय सञ्चालनका लागि पनि गाउँ कार्यपालिकाबाट निर्णय गरेर सिटिइभिटीमा माग गरेको छ । सिटिइभिटी पनि विद्यालय सञ्चालनका लागि सकारात्मक रहेको अधिकृत नेपाली बताए ।