२०७६ कार्त्तिक ५ गते

आधारभूत तहबाट हटाइयो पूर्वव्यावसायिक

अन्तैबाट

काठमाडौँ । सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रममा संलग्न व्यावसायिक शिक्षा विषय पाठ्यक्रम प्रारूप, २०७५ बाट हटाइएको हो ।


विद्यालय संरचना कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम छ । मन्त्रालयले नयाँ संरचनाअनुसार माध्यमिक तहमा कक्षा ९–१२ मा साधारण धार र प्राविधिक धारका रूपमा विकास गर्ने नीति लिएको छ । बालबालिकाको उमेरअनुसार आधारभूत तहमा आवश्यक नरहेकाले पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताए ।

‘आधारभूत तहमा पढ्नेको उमेर व्यावसायिक सीप सिक्ने होइन,’ उनले भने, ‘त्यसैले कक्षा ९ देखि मात्र राखिएको छ । व्यवहारकुशल सीप भनेर समेटिएको छ । सबै विषयको क्रियाकलापमा जोडिएको छ ।’ मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भने व्यावसायिकलाई सामाजिक विषयमा समेटिएको दाबी गर्छन् । ‘व्यावसायिक शिक्षालाई सामाजिकसँग जोडिएको छ,’ उनले  भने । विज्ञले भने बालबालिकालाई प्रारम्भिक तहदेखि नै कृषि, व्यवसाय, हस्तकला, चित्रकलाजस्ता सीप सिकाउँदा उनीहरू आफ्नो वरिपरिका विषयवस्तुसित परिचित हुने बताउँदै आएका छन् । उनीहरूको खुबी र रुचि पनि पहिचान हुने भएकाले हटाउन नहुने उनीहरूको भनाइ छ ।

‘आधारभूत तहमा पठनपाठन गर्दा माध्यमिक तहमा सम्बन्धित विषय रोज्न विद्यार्थीसित विकल्प रहन्थ्यो,’ मन्त्रालयका पूर्वसचिव तथा विषयविज्ञ जयराज गिरीले भने, ‘सानै कक्षादेखि व्यावसायिक शिक्षासम्बन्धी सीप सिक्दै र पाठ्यपुस्तकमा पनि पढ्न पाउँदा त्यसप्रति विद्यार्थीको जिज्ञासा बढ्छ । सात दशकदेखि प्राथमिकतामा परेको विषय एकाएक हटाइनुबाट यसको गाम्भीर्यलाई कम आकलन गरिएको पुष्टि हुन्छ ।’

पूर्वव्यावसायिक शिक्षालाई कक्षा ४ देखि अनिवार्य विषयका रूपमा समावेश गर्दा सकारात्मक प्रभाव रहने उनको भनाइ छ ।

कान्तिपुरमा खबर छ ।

Comments: