• सार्वजनिक शिक्षा सुधार्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु
    (ईपाटी संवाददाता/काठमाडौं)


  • काठमाडौं । सार्वजनिक विद्यालय सुधार गर्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ । शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सम्मेलनको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधवार उद्घाटन गरेका हुन् ।


    भक्तपुरको बोडेमा शुरु भएको सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तहका प्रतिनिधिहरुको साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


    सम्मेलनको पहिलो दिन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले सम्मेलनको सफलताको शुभकामना दिएका थिए भने विभिन्न विषयमा प्रस्तुतिहरु दिइएको थियो ।
    सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २२ बुंदे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ सार्वजनिक गरेका थिए । मन्त्रीपोखरेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बालविकास केन्द्र, पाठ्यक्रम, प्रधानाध्यापक, शिक्षकलगायतको सुधारका लागि गरिने कार्यहरु समावेश छन् । शिक्षक दरबन्दी पुनर्वितरण, शिक्षक तालिम, प्रोत्साहन, शिक्षण सिकाइ विधिमा सुधारलगायतका लागि गरिने कार्यहरु समावेश रहेका छन् ।


    विद्यार्थी मूल्यांकनमा सुधार, विद्यालय सुशासन, प्राविधिक शिक्षाको सुधार र विदालय नक्सांकनमा गरिने सुधारका कार्यहरु मन्त्रीले सार्वजनिक गरेका छन् ।
    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मन्त्री पोखरेलले सामुदायिक विदालयबाटै सुधारका लागि सम्मेलनले दिने सुझाब महत्वपूर्ण हुने र त्यसको कार्यान्वयन गरिने जानकारी दिए ।


    कार्यक्रममा प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयहरुमा सीपयुक्त सिकाइको आवश्यकतामा जोड दिइन् । शिक्षालाई बोझ नभई रुचिको विषयको रपमा विकास गर्न सम्मेलनले महत्वपूर्ण छलफल गर्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले सार्वजनिक शिक्षाको चमक हराएको बेला सम्मेलनले त्यसको चमक फर्काउने दिशामा महत्वपूर्ण काम गर्नुपर्ने बताइन्् । यो सम्मेलन छलफल र कागजमा मात्रै सिमित नरहोस्, सुधारको दिशामा कोशेढुंगा बनोस् – झाले भनिन् ।


    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शिक्षकको काम पढाउने मात्रै भएकाले राजनीति गर्न नहुने भन्दै शिक्षकले कक्षाकोठामा राम्रो पढाएमात्रै पनि सार्वजनिक शिक्षाको सुधार हुने बताए । नेपाल युवापरिषद्का अध्यक्ष माधव ढुंगेलले विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणात्मक क्षमता भएको शिक्षा आजको आवश्यकता भएकोमा जोड दिए ।


    गायिका आनी छोइङ डोल्माले नैतिक शिक्षाको कमीले शंका, डर र अविस्वास बढ्दै गएको भन्दै धामिक शिक्षालाई महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जिल्ला स्थित शिक्षा विकास तथा समनवय इकाइहरुले स्थानीय शिक्षा सुधारमा बाधकको काम गरेको धारणा व्यक्त गर्दै सम्मेलनले त्यसविषयमा छलफल गर्नुपर्नेमा जोड दिए ।


    हास्य कलाकार दिपकराज गिरीले विद्याथीृहरुलाई जीवनमा प्रयोग नै नहुने विषयहरु जवर्जस्ती पढाइदा शिक्षा निरस बनेको भन्दै रुचि र जीवनउपयोगी सीप सहितको शिक्षा हुनुपर्ने बताए ।


    शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सम्मेलन उपस्थिति र छलफलमा मात्रै सिमित नरही यहाँ पस्तुत हुने राम्रा अभ्यासहरुको विस्तार हुनुपर्नेमा जोड दिए ।


    सम्मेलनमा स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण भएको थियो ।


    वैशाख ११ र १२ गते आयोजना गर्न लागिएको सम्मेलनमा बर्दियाको बारबर्दिया नगरपालिका, नवलपुरको होप्सेकोट गाउँपालिका, सर्लाहीको वागमती नगरपालिका, कालिकोटको नरहरिनाथ नगरपालिका, पाल्पाका पूर्वखोला गाउँपालिका र झापाको हल्दीबारी गाउँपालिका सहभागी भएका छन् । यी स्थानीय तहले सार्वजनिक विद्यालय सुधार अभियानमा गरेका कामबारे प्रस्तुतीकरण गर्नेछन् । विद्यालयका तर्फबाट सातवटा प्रदेशबाट २३ विद्यालयहरुको सहभागिता रहेको छ । प्रदेश १ बाट ४, २ बाट २, ३ बाट ३, गण्डकीबाट ४, ५ बाट ५, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ विद्यालयको सहभागीता रहेको छ । विद्यालयले आफूले सामुदायिक शिक्षा सुधार गर्न गरेका विषयवस्तु सम्मेलनमा प्रस्तुत गर्ने जनाइएको छ ।