२०७६ माघ १२ गते

खोटाङमा एमाले–माओवादी शिक्षक संगठन एकीकरण हुने

खोटाङ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) खोटाङको दुई शिक्षक संगठनबीच आगामी निर्वाचनपछि एकता हुने भएको छ । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने लक्ष्यका साथ वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रको भातृ संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनबीच चुनावपछि एकीकरण हुने भएको हो ।

दिक्तेलमा शनिबार बसेको दुवै शिक्षक संगठनको संयुक्त बैठकले मातृ पार्टी एकीकरण नभएको खण्डमा आफूहरु भातृ संगठनको रुपमा बस्न नसक्ने निर्णय गरिएको बैठकपछि दुवै संगठनले जनाएको छ । बैठकमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदाता शिक्षा सञ्चालन गर्ने, मातृ पार्टीलाई एकताका लागि दबाब दिने र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने निर्णय गरिएको एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले बताए ।

दुवै शिक्षक संगठनका अध्यक्ष संयोजक रहनेगरी संयुक्त चुनाव परिचालन तथा मतदाता शिक्षा सञ्चालन समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव टंक कटवालले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पालिकास्तरको उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

एक लाख २५ हजार १८३ जना मतदाता रहेको जिल्लामा आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा दश राजनीतिक दलका उम्मेदवारले भाग लिएका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लामा वाम गठबन्धन र नेपाली कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


नयाँ पत्रिकामा खबर छ ।

Comments: