२०७७ जेष्ठ १६ गते

अबको विद्यालय शिक्षाको बाटो के ? डा. वाग्लेका १० सुझाब

प्राडा मनप्रसाद वाग्ले

काठमाडौं । कोरोना भाइरस(कोभिड-१९)को त्रासका कारण मुलुक लकडाउनमा छ । परीक्षाहरु स्थगित छन् । विद्यालयहरु बन्द रहेको अवस्था छ । नयाँ शैक्षिक सत्र सञ्चालनको टुंगो छैन । भर्ना अभियान पनि अनिश्चित बनेको छ ।अब केही समय विद्यालय नियमित रुपमा सञ्चालन हुने सम्भावना देखिदैन । सरकारले पनि विद्यालयमा अनलाइन मार्फत् कक्षा सञ्चालन गर्ने जनाएको छ ।

यसै मेसोमा शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले अबको विद्यालय शिक्षाको बाटो के भनेर कान्तिपुरमा सामग्री छपाएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित वाग्लेका अबको विद्यालय शिक्षाको बाटो के भन्ने बारेको १० सुझाब जस्ताको त्यस्तै

अबको विद्यालय शिक्षाको बाटो के ?

१. कोरोनाको विश्वव्यापी महामारीको लक्षण छिटै निर्मूल हुने देखिंदैन । त्यसमाथि सुरक्षाको सुनिश्चितता नभएसम्म कुनै पनि अभिभावकले आफ्ना सन्तान विद्यालय पठाउने छैनन् ।

२. पठन पाठनको कुरै छाडौं भर्ना नै पनि गर्ने स्थिति रहन्न । त्यसैले विद्यालय पठन पाठनको हिसावले यो शैक्षिक सत्र पुरै सकसमा गुज्रने पक्का छ ।

३. अहिले हाम्रा विद्यालयमा शैक्षिक सत्र शुरु हुने मौसम हो तर विद्यालय खुल्ने सम्भावना छैन । कहीं कतै प्रविधिको उपयोग गरी पठनपाठन गर्ने तागत भए पनि विद्यार्थीको तहमा यसको पहूँच निकै कम छ ।

४. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजन मार्फत कार्यक्रम प्रसारण गरेको बताईरहेपनि सार्वजनिक विद्यालय पढ्ने सामाजिक आर्थिक अवस्था कम्जोर विद्यार्थी मध्ये १५ प्रतिशतमा पनि त्यो प्रसारण पुग्दैन ।

५. शहरी क्षेत्रका सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीमा त रेडियोको पहूँच पनि विरलै हुन्छ किनकि उनीहरु कि घरेलु मजदुर हुन् कि कुनै कारखानामा काम गर्ने मजदुरका केटाकेटी हुन् ।

६. त्यस्ता मजदुर घरमुलीको हातमा भएको मोबाईललाई देखेर अनलाइन शिक्षाको कुरा गर्नु कति सान्दर्भिक होला ?

७. प्रविधिको प्रयोग २१ औं सताब्दीको लागि अपरिहार्य छ भन्ने कुरामा शंका छैन । हुने खानेका सन्तान त्यसै सुबिधासम्पन्न छन्, जुन तरिका अपनाए पनि भयो । तर सार्वजनिक शिक्षामा पढ्ने हुँदा खानेको जमातलाई विचार नगरी प्रविधिको डम्फु बजाउने हो भने सामाजिक न्याय हुँदैन ।

८. त्यसैले प्रत्येक घरमा सूचना प्रविधिका के कस्ता साधन बालबालिकाको लागि उपलब्ध छन् घरै पिच्छे सर्भे गरेर त्यसको तथ्य संकलन गरौ र यो काम स्थानीय सरकारले प्रत्येक वडा मार्फत सजिलै गर्न सक्छ ।

९. यस्तो सूचना बाट चार प्रकारको विद्यार्थी पहिचान गर्न सकिन्छ । पहिलो रेडियो पनि नभएका, दोस्रो रेडियोको मात्रै सुबिधा भएका, तेस्रो टेलिभिजनको समेत सुबिधा भएका र चौथो इन्टरनेट खरिद गरेर चलाउन सक्ने क्षमतामा रहेका ।

१०. शिक्षा मन्त्रालयले सवै स्थानीय सरकारलाई यी चारै थरिलाई हुने गरी पाठ्य सामग्री निर्माण गर्न लगाई निःशुल्क वितरण गर्नुपर्छ, र सोही अनुसारको पूर्वाधार विकास गरी घरै बसेर शिक्षा प्राप्त गर्ने सुबिधा दिनुपर्छ ।

Comments: