• फागुन भित्रै शिक्षक लाइसेन्सको विज्ञापन हुने, यस्ता छन् नयाँ व्यवस्था
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षक सेवा आयोगले फागुन भित्रै शिक्षक लाइसेन्सको विज्ञापन गर्ने जनाएको छ ।

    आयोगले आगामी लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने समेत स्पष्ट पारेको छ । आयोगले यसअघि नै नयाँ पाठ्यक्रम सार्वजनिक गरिसकेको छ ।

    अब सोही पाठ्यक्रम अनुसार पहिलो पटक विषयगत परीक्षा सहितको विज्ञापन गर्ने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।


    यसअघि लाइसेन्सको परीक्षामा नेपाली, विज्ञान, गणित जुन विषय पढाउने भएपनि एकैखाले प्रश्न सोधिने भएपनि अब विषयगत रुपमा छुट्टाछुट्टै प्रश्न सोधिने थपलियाले स्पष्ट पारे ।

    ‘यसपटकदेखि भने ४० अंकको विषयगत ज्ञान भनेर हरेक विषयकालागि छुट्टा–छुट्टै ४० प्रश्न सोधिन्छ ।  अब आफूले पढाउने विषयमा गहिरो ज्ञान नभएको मान्छे लाइसेन्स प्रक्रिया बाटै बाहिरिन्छ ।’ डा. थपलियाले भने ।


    यसैगरी ५ अंकका ५ प्रश्न गरी २५ अंकको शिक्षण सीप अर्थात कसरी पढाउने भन्ने प्रश्न सोधिने जसमा जुन विषय पढाउने हो त्यो कसरी पढाउने भन्नेखालको प्रश्न सोधिने आयोगले जनाएको छ ।


    यसैगरी ५ अंकको ७ प्रश्न गरी ३५ अंकको पहिले जस्तै सामान्य पेशागत ज्ञानका प्रश्न सोधिने आयोगले जनाएको छ । जसमा संविधान, ऐननियम, आधारसंहितालगायतका प्रश्नहरु सोधिनेछ ।


     अब शिक्षक लाइसेन्स पाउनका लागि विषयगत ज्ञान, त्यो विषय सिकाउने ज्ञान र सामान्य पेशागत ज्ञान जान्नुपर्ने आयोगले स्पष्ट पारेको छ । ‘यो आयोगले पहिलोपटक गर्न लागेको हो । यो लाइसेन्सको क्षेत्रमा ठूलो फड्को पनि हो ।’ डा. थपलियाले भने ।