२०७६ असोज २ गते

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा थिए ।

‘स्कुलले बोलाएपछि भर्खरै तल (वीरेन्द्रनगर) आएको छु,’ साँझपख सम्पर्कमा आएका प्रदीपले भने, ‘एसईई परीक्षा दिएपछि गाउँमै बसेर घरको काममा सघाइरहेको थिएँ, आज त नआई सुख पाइएन ।’ प्रदीपले एसईईमा हासिल गरेको परिणामबाट अबलचिङस्थित उनको परिवार र गाउँमा खुसी छाएको छ । कृषि–कर्ममा संलग्न उनका बुवा चक्रलाई भने खुसीसँगै जिम्मेवारीको गहु्रँगो भारीले च्याप्न सुरु गरिसकेको छ । ‘दिदी–भिनाजुको सहयोगले अहिलेसम्म बजार (वीरेन्द्रनगर) मा बसालेर पढाएँ, अब कहाँ के पढ्ने हो थाहा छैन,’ उनले भने, ‘काठमाडौंमा राम्रा स्कुलले छात्रवृत्ति दिन्छन् भन्ने त सुनेको छु, केही मेलोमेसो छैन ।’

प्रदीप चक्रका जेठो सन्तान हुन् । माइली छोरी र कान्छो छोरा गाउँकै स्कुलमा १० र ९ कक्षामा पढ्छन् । सानैदेखि पढाइमा तेज प्रदीपले वीरेन्द्रनगरस्थित जन माविबाट एसईई उत्तीर्ण गरेका हुन् । सोही स्कुलबाट ४ जीपीएसहित एसईई उत्तीर्ण वीरेन्द्रनगर बजारका गणेश भण्डारी भने काठमाडौंमा ब्रिजकोर्स गरिरहेका छन् । उनको सपना विज्ञान पढेर कार्डियोलोजिस्ट (मुटुरोग विशेषज्ञ) बन्ने छ ।

प्रदीपको तुलनामा गणेशको अध्ययनमा पारिवारिक वातावरण निकै अनुकूल रह्यो । वीरेन्द्रनगर बजारमै घर भएका उनको पढाइमा परिवारले पूरै साथ दियो । ‘घरमै सानोतिनो पसल राखेकी थिएँ, छोराको पढाइका लागि बेचिदिएँ,’ आमा लक्ष्मीकुमारीले भनिन्, ‘अहिले पनि ब्रिजकोर्स पढाउन काठमाडौंमा आएर बसेकी छु ।’ दुई सन्तानमध्ये जेठी छोरी स्टाफ नर्स तेस्रो वर्षमा अध्ययनरत रहेकी उनले बताइन् ।

यी दुई मेधावी छात्र उत्पादन गर्ने ६७ वर्ष पुरानो जन माविको सफलता पनि कम्ती प्रेरणादायी छैन । एसएलसीमा औसत नतिजा ल्याउँदै आएको उक्त विद्यालयले पछिल्लो चार वर्षमा सफलताको फडको मार्न थालेको हो । २०७४ को एसईईमा दुई सय ८३ जना सहभागी भएकामा ३७ जना उत्तीर्ण भए । २०७३ मा २५ जना उत्तीर्ण भए । ‘विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको साझा प्रयत्नबाट पछिल्लो समय हामी यो क्षेत्रमै राम्रो नतिजा प्राप्त गर्न सफल छौं,’ प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘अहिलेको नतिजाले हामीलाई थप उत्साही बनाएको छ ।’

करिब पाँच वर्षअघि गोविन्द कोइराला विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएसँगै विद्यालयको शैक्षिक गुणस्तर सुध्रिन सुरु भएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । समितिले सामुदायिक विद्यालयलाई हेर्ने नजर बदल्न सबैभन्दा पहिले समितिका पदाधिकारी र शिक्षकका छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउने नीति तय गर्‍यो । अहिले सबै शिक्षक र व्यवस्थापन समिति पदाधिकारीका विद्यालय उमेर समूहमा पर्ने छोराछोरी जन माविमै पढ्छन् ।

‘शिक्षकलाई आफ्ना छोराछोरीसमेत पढ्ने भएपछि थप जिम्मेवार बनाएको छ,’ प्रअ श्रेष्ठले भने, ‘यसको प्रभाव नतिजामा देखिएको छ ।’ बन्द–हडतालमात्र होइन, वर्षे बिदामा समेत जन मावि बन्द हुँदैन । वर्षमा सरदर दुई सय ७० दिनसम्म विद्यालय खुल्छ । वर्षे बिदाको बेला विद्यार्थीको आवश्यकता र मागलाई ध्यान दिएर अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । यसका साथै कमजोर विद्यार्थीका लागि दैनिक ४ देखि ६ बजेसम्म विशेष कक्षा हुन्छ । प्रत्येक शनिबार सुधारात्मक परीक्षा हुन्छ, जसबाट आएको नतिजाले पृष्ठपोषणको काम गर्छ ।

कलेन्द्र सेजुवालले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: