२०७६ कार्त्तिक २९ गते

परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड'

सुर्खेत ।  माध्यमिक शिक्षा परीक्षाअन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिकामैत्री हुने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलोपटक बिहीबारदेखि सुरु हुन लागेको कक्षा १० को परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था हुने भएको हो । यस्तै परीक्षामा सहभागी हुने विद्यार्थीलाई मुस्कानसहति स्वागत गरिनेछ ।

परीक्षालाई भयरहित, शान्तिपूर्ण र मर्यादित बनाउन शिक्षा कार्यालयले विभिन्न ३७ बुँदे आचारसंहिता जारी गरेको छ । यसपटक माध्यमिक शिक्षा परीक्षा बिहीबारबाट सुरु हुँदैछ । परीक्षालाई भयरहित बनाउन मुस्कानसहित परीक्षा केन्द्रमा स्वागत गर्न र छात्रामैत्री बनाउन हरेक केन्द्र्रमा अनिवार्य सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालयले सबै परीक्षा केन्द्रलाई निर्देशन दिएको छ ।

महिनावारी भएका छात्राले सहज रूपमा परीक्षा दिन सकुन् भन्नेमा आफूहरू सचेत रहेको भन्दै शिक्षा कार्यालयले जिल्लाका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड अनिवार्य गरिएको जनाएको हो । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले परीक्षा केन्द्र बालिकामैत्री हुने बताए । उनले भने, ‘सबै विद्यार्थीले सहज रूपमा परीक्षा दिने वातावरण बनाएका छौं, विषेशगरी छात्राको पक्षमा हामी गम्भीर छौं । महिनावारी भएका छात्राले परीक्षामा लेख्नै नसक्ने अवस्था हुन्छ, त्यसका लागि हामीले सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था गरेका छौं ।'

यो व्यवस्थाले सहज हुने उनको विश्वास छ । यस्तै शिक्षा कार्यालयले परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न विभिन्न आचारसंहितासमेत जारी गरेको हो । आफ्ना नातेदार परीक्षार्थी भएको केन्द्रमा कसैले पनि निरीक्षकको जिम्मेवारी पाउने छैनन् । शिक्षा कार्यालयले परीक्षार्थी आफ्नो नातेदार नभएको लिखित हस्ताक्षर गरेर मात्र निरीक्षक खटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ।

कसैले छलेर जिम्मेवारी लिए कानुनअनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी शाहले बताए । उनले भने, ‘तोकिएको आचारसंहिताअनुसार जिम्मेवारी पूरा गरौं, कसैले अटेर गरे सजाय हुन्छ । परीक्षालाई शान्तिपूर्ण बनाऊँ, यो सबैको दायित्व हो ।' आचारसंहिताअनुसार विद्यार्थी अनिवार्य रूपमा विद्यालय पोसाकमा परीक्षामा सहभागी हुनुपर्ने, प्रवेशपत्रबिना परीक्षामा सहभागी हुन नपाइने, होस्टेल, कोचिङ कक्षाजस्ता शैक्षिक संस्थाका सञ्चालक एवं व्यवस्थापलाई परीक्षा सञ्चालनमा सहभागी गराउन नपाइने, मर्यादाविपरीत काम गर्नेलाई तत्काल निष्कासन गर्ने, एउटै निरीक्षकलाई हरेक दिन एउटै कक्षामा नराख्ने र परीक्षा अवधिभर मोबाइल चलाउन नपाइने उल्लेख छ । उच्च मनोबलका साथ परीक्षा केन्द्रमा विद्यार्थीलाई स्वागत गर्न र परीक्षा सञ्चालनमा जुट्न केन्द्राध्यक्षलाई जिल्ला शिक्षा अधिकारी शाहले आग्रह गरेका छन् ।

शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यमिक शिक्षा परीक्षाको रूपमा लिन सुरु गरिएको हो । परीक्षालाई शान्तिपूर्ण बनाउन सुरक्षाको सबै व्यवस्था भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका एसपी मोहन आचार्यले हरेक केन्द्रमा १० जना सुरक्षाकर्मी परिचालन हुने र एकजना महिला प्रहरी अनिवार्य रहने जानकारी दिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले परीक्षालाई सहज रूपमा लिन सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘सबैले सहज वातावरण निर्माण गरौं, अनावश्यक भीड जम्मा भएर परीक्षा केन्द्रलाई त्रसित नबनाऔं । हाम्रो जिल्लाको परीक्षा नमुना बनाउनेतर्फ जुटौं, अमर्यादित काम गर्नेलाई कडा कारबाही गर्न बाध्य हुनेछौं ।' यो परीक्षामा सुर्खेतबाट ९ हजार एक सय ३० जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि जिल्लामा ३० वटा परीक्षा केन्द्र तोकिएका छन् । अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: