२०७६ कार्त्तिक २७ गते

राहत शिक्षकले आन्दोलन गर्ने

ओखलढुंगा । संघीयता कार्यान्वयनसँगै राहत शिक्षकहरूलाई स्थायीको प्रक्रियामा लानुपर्ने मागसहित देशभरिका राहत शिक्षकहरूले आन्दोलनका लागि मोर्चा निर्माणको अभियानमा जुटेका छन् । उनीहरूले संघ, प्रदेश र जिल्ला तहमा ‘नेपाल राहत शिक्षक संघ’को संरचना निर्माण गर्दै आन्दोलन थालेका हुन् ।

ओखलढुंगामा मात्रै राहत शिक्षक संख्या ४२७ जना छन् । यसमध्ये साविकको तहअनुसार मावि ९४, निमावि ८८ र प्रावि २९५ राहत शिक्षक छन् । ती सबै राहत शिक्षक सम्मिलित स्थानीय तहअनुसारको समिति गठन भइसकेको छ । १५ फागुनभित्र सबै स्थानीय तहमा समिति गठन गरी अधिवेशन गर्ने र संयुक्त रूपमा प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

शिक्षा सेवा आयोगले आगामी चैतमा अस्थायी शिक्षकहरूका लागि स्थायी प्रक्रियाको परीक्षा लिँदै छ, त्यसैअनुसार राहतलाई पनि स्थायी प्रक्रियामा लानुपर्ने माग राहत शिक्षकहरूले राखेका छन् । ‘एउटै प्रकृतिको नियुक्ति, उही प्रकारको सेवा र उस्तै काम अस्थायी र राहत शिक्षकको छ ।’ नेपाल राहत शिक्षक संघका प्रदेश १ का कोषाध्यक्ष रामजी दाहालले भने, ‘तर अस्थायी र राहतमै पनि सरकारले विभेद गरेको देखियो । त्यसैलाई दबाब दिन संगठित हुने काम सुरु भएको हो ।’ राज्यको नयाँ  संरचनासँगै राहत शिक्षकको विषयमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विभाग र शिक्षा सेवा आयोगले केही स्पष्ट नपारेको कारण संघको नाममा उनीहरू संगठित भएका हुन् ।

शिक्षा सेवा आयोगले राहत शिक्षकलाई सेवा गरेबापत अनुभवको आधारमा आयोगको परीक्षामा सहभागी हुँदा वर्षको १ अंक दिने भन्ने उल्लेख गरेको छ । तर आयोग बर्सेनि नखुल्ने भएकाले कतिपय राहत शिक्षकको उमेरको हदबन्दीले गर्दा अन्यायमा परेको उनीहरू बताउँछन् । अस्थायी र राहत शिक्षक दुवैलाई शिक्षा कार्यालयले नियुक्ति दिने प्रावधान छ । अनुदानको भरमा तलब सुविधा पाइरहेका शिक्षक राहत शिक्षक हुन् । जननिर्वाचित प्रतिनिधिहरूले समेत राहत शिक्षकको मागलाई उचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

राजधानी दैनिकमा खबर छ ।

Comments: