२०७६ मंसिर ६ गते

शिवालय माविमा महिनावारी व्यवस्थापन तालिम

ईपाटी संवाददाता

पोखरा । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा महिनावारी व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
 
विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्राहरुका लागि राइट फर चिल्ड्रेनको सहयोगमा आयोजित तालिममा पद्म नर्सिङ होम कलेजकी शिक्षिकाद्वय रोजिना नकर्मी र जीता श्रेष्ठले सहजीकरण गरेका थिए । उनीहरुले महिनावारी हुने लक्षण, भएपछि आउन सक्ने समस्या र भएपछि समाधानका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा प्रशिक्षण दिएका थिए ।

 
सोही अवसरमा राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत शारदा जी.टी.ले विषयवस्तुमाथि प्रकाश पार्दै महिनावारीका विषयमा कुरा गर्न लाज मान्न नहुने बताइन् । उनले शिवालयमा शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम नियमिति रुपमा सञ्चालन गरिने जानकारी दिइन् ।

 
प्रशिक्षणपछि ५ सदस्यीय महिनावारी व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयकी शिक्षिका बिना तिमल्सेनालाई फोकल पर्सन तोकिएको समितिका सदस्यहरुमा समीक्षा राना मगर, सपना सुवेदी, दीपा ओझा, करिना ओझा र गीता ओझा रहेका छन् । समितिले महिनावारी व्यवस्थापनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने फोकल पर्सन तिमल्सेनाले जानकारी दिइन् ।

Comments: