२०७६ भदौ ५ गते

शिक्षक नेताले कांग्रेसका वरिष्ठ नेता पौडेललाई लोकतन्त्रको पाठ पढाए

ईपाटी संवाददाता


काठमाडौं । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष केशव निरौलाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लोकतन्त्रको पाठ पढाएका छन् ।

संघको काठमाडौंमा जारी २० औं प्रतिनिधि सभाको उद्घाटन सत्रमा बोल्दै निरौलाले शिक्षकहरुबाट लोकतान्त्रिक अभ्यास सिक्न नेता पौडेलाई आग्रह गरेका हुन् ।

 'म कांग्रेसको शुभेच्छुक संगठनको सदस्य हुँ, कांग्रेसमा भागवण्डाका धेरै कुरा सुनिन्छ । अल्पमत र बहुमतका धेरै कुरा सुनिन्छ ।' निरौलाले भने–'म पनि शिक्षक संघको अध्यक्षमा पराजित भएको हुँ । तर, मैले कहिल्यै अल्पमत र बहुमतको, भागवण्डाको कुरा गरेको छैन । विजयी अध्यक्ष राजेन्द्रराज पौडेललाई सघाइ रहेको छु ।'

विजयी नेतृत्वले आफ्नो कार्यकाल निसंकटरुपमा पुरा गर्न पाउनुपर्ने आफ्नो धारणा रहेको भन्दै निरौलाले आफूले विजयी नेतृत्वलाई सहयोग गर्दै आएको स्पष्ट पारे ।

नयाँ संघीय नेतृत्वको सन्दर्भमा सार्वजनिक टिकाटिप्पणी आजसम्म नगरेको भन्दै उनले नेता पौडेललाई यसबाट पार्टीले पनि सिक्न आग्रह गरे ।

के अब हामी पनि भागवण्डामा लाग्नुपर्ने हो, नेतृत्वलाई असहयोग गर्न तिर लाग्नुपर्ने हो प्रश्न गर्दै निरौलाले असहयोग र भागवण्डाले आफुहरुलाई कमजोर मात्रै बनाउने स्मरण गराए ।
 
'संगठन भएकाले कांग्रेसको हावा यतापनि आइरहन्छ । त्यहाँ ६०–४० को भागवण्डा हुँदा यहाँ किन नगर्ने भनेर साथीहरुले कुरा उठाइरहन्छन् ।' निरौलाले भने – 'तर, मैले साथीहरुलाई लोकतान्त्रिक पद्धति र संस्कार हामी आफुमा पनि ढाल्न सक्नुपर्दछ भन्ने गरेको छु ।'

वरिष्ठ नेता पौडेल तर्फ इंकित गर्दै  निरौलाले कांग्रेसले पनि त्यसैगरी सोच्न आग्रह गरे ।
 
'प्रजातन्त्रमा ५१ प्रतिशतले ४९ प्रतिशत माथि शासन गर्ने त्यो पुरानो परिभाषा हो । बहुमतले अल्पमतलाई शासन गर्ने त्यो पुरानो परिभाषा हो ।' निरौलाले भने– 'लोकतन्त्रको नयाँ परिभाषा भनेको बहुमतले अल्पमतलाई सँगसँगै लैजाने हो ।'


जिल्लाका नेतृत्वका साथीहरुलाई पनि निरौलाले लोकतन्त्रको पुरानो परिभाषामा नलाग्न आग्रह गरे ।


संघीय समितिका साथीहरु पनि त्यही बाटोमा हिड्ने अपेक्षा राख्दै निरौलाले अहिलेको चुनौति सामना गर्न एकता बिना सजिलो नभएको स्पष्ट पारे ।


लोकतान्त्रिक प्रणालीमा अल्पमत र बहुमत नभनी बलियो शिक्षक संघ बनाउनु अहिलेको आवश्यकता भएकोमा निरौलाको जोड थियो । यो प्रतिनिधि सभा सम्पन्न हुदाँखेरीसम्म नेपाल शिक्षक संघ त्यो बाटोमा जाने निरौलाले आशा व्यक्त गरे ।


निरौलाले संघको यो प्रतिनिधि सभाले नेपालको शिक्षाका लागि, नेपालका शिक्षकका लागि र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण निर्णय लिन सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले आशा, अपेक्षा र भरोसा गरेका निर्णय सभाले गरोस भन्ने कामना समेत गरे ।

शिक्षा ऐनमा गोल्डेन ह्याण्डसेकपछि मात्रै अवकाश हुने कुरा लेखिएको भन्दै निरौलाले गोल्डेन ह्यासेकको टुंगो नहुँदै अवकाशको चिठी थमाउनु गलत भएको बताए ।


अस्थायीलाई स्थायी शिक्षकले विस्थापित गरेको सुनिएपनि अस्थायीलाई करार र स्वयंसेवी शिक्षकले विस्थापित गरेको नसुनेको भन्दै निरौलाले सरकारले त्यसो गरे त्यो  शिक्षक आन्दोलनमाथिको अपमान र बैमानी हुने स्पष्ट पारे । राहत शिक्षकलाई पनि अस्थायीलाई जति सुविधा प्राप्त नहुँदासम्म शिक्षकका महासंघ, संघसंगठनहरुले मुद्दा उठाइरहनुपर्नेमा उनले जोड दिए ।


'दरबन्दीमा रुपान्तरण हुनु राहत शिक्षकको समाधान हुँदै होइन अस्थायी शिक्षकभन्दा थप आन्तरिक प्रतिस्पर्धा हुनुपर्छ ।' निरौलाले भने । 'बालविकास र विद्यालय कर्मचारीको समस्या समाधानमा पनि संघले पहल गर्न जरुरी छ ।'



 

Comments: