• नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ
    (ईपाटी संवाददाता)


  • काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएकी छन् । नेपालमा बुद्धिजम, हिन्दुइजम, पर्वातरोहण सम्बन्धि विभिन्न कोर्सका लागि विदेशी विद्यार्थी ल्याउन सकिनेमा उनको जोड थियो ।


    स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल(फेकन)को नवौं वार्षिक साधरण सभाको उद्घाटन गर्दै मन्त्री थापाले अब विद्यार्थीहरु विदेश पठाउने मात्रै होइन विदेशी विद्यार्थीहरुसमेत नेपाल ल्याउनुपर्ने बताइन् ।


    फेकनका अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श क्षेत्रमा स्पस्ट निर्देशिकाको आवश्यकता औंल्याए । उनले भने, ‘निर्देशिकामा समस्या छ, अहिले पुरानो निर्देशिका अनुसार सञ्चालन भइरहेको छ भने अब स्पस्ट नीति सहितको निर्देशिका आवश्यक छ ।’


    कन्सलटेन्सी क्षेत्रमा विदेशी लगानीको विषयमा आफूहरु स्पस्ट रहेको भन्दै कुनै पनि हालतमा विदेशी लगानी स्वीकार्य नभएको कटुवालले बताए । उनले थपे, ‘विदेशी लगानी सबै क्षेत्रमा आवश्यक छैन, नेपाली लगानी अपर्याप्त हुने ठाउँमा आवश्यक होला तर कन्सलटेन्सी क्षेत्रमा आवश्यक छैन, यसलाई निर्देशिकामा स्पष्ट पार्नुपर्छ ।’


    शैक्षिक परामर्श संस्थाले नेपाली विद्यार्थी विदेशी पठाउने मात्रै नभइ देशमा गुणस्तरीय शिक्षा उपलब्ध र विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुने हो भने विदेशबाट समेत विद्यार्थी ल्याउन सकिने उनले बताए । कन्सलटेन्सी व्यवसायलाई समय समयमा उच्च नेतृत्वकर्ताबाटै नकारात्मक टिप्पणी गरी बदनाम गराउने प्रयास भइरहेको तर्फ इंकित गर्दै उनले भने, ‘हामी विदेशमा विद्यार्थी मात्रै पठाउँदैनौ, नेपालको पर्यटन विकासका लागि विद्यार्थीका रुपमा पर्यटन दूत पनि पठाइरहेका छौं ।’


    कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका शैक्षिक प्रमाणिकरण शाखाका प्रमुख कृष्ण प्रसाद पोखरेलले शैक्षिक परामर्श सम्बन्धि निर्देशिका तयार भएर मन्त्रिपरिषदमा पुगेको र स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । ‘निर्देशिकाको सम्पूर्ण काम सकियो अब अन्तिम चरणमा छ, अब केही समय मै निर्देशिका कार्यान्वयनमा आउँछ ’– उनले भने ।


    कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले फेकनलाई एक जुट भएर अगाडि बढ्न आग्रह गरे । ‘हामी समान उद्देश्य लिएर अगाडि बढेका छौ, अहिले कार्यगत एकता सुरु भइसकेको छ, आगामी दिनमा पनि एकजुट भएर अगाडि बढ्नु आवश्यक छ ।’ उनले भने ।


    पाण्डेले बन्न लागेको निर्देशिकामा डिपोजिटको व्यवस्था हटाउनुपर्ने, यस क्षेत्रमा विदेशी लगानीलाई अस्वीकार गरिनुपर्ने साथै यस व्यवसायलाई संघको मातहतमा राख्नुपर्ने लगायतका आफ्ना माग रहेको र सोही अनुरुप निर्देशिका जारी हुनुपर्ने माग अगाडि सारे ।


    कार्यक्रममा नेता रामनारायण विडारी, रामहरि खतिवडासँगै ब्रिटिस काउन्सिल र आईडीपीका प्रतिनिधीलगायतले वार्षिक साधरण सभाको सफलताको शुभकामना दिएका थिए ।