२०७६ असोज ३ गते

'स्मार्ट’ छोरीहरू

अन्तैबाट

दाङ । बसाइ सँगै । पढाइ सँगै । सबैका कथा–व्यथा उस्तै । ‘स्मार्ट छोरी’ भनेर चिनिने उनीहरूको घर भने १६ वटा जिल्लामा पर्छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीस्थित सहिद स्मृति आवासीय माविको छाक्रावासमा १ सय ८९ जना ‘स्मार्ट छोरी’ छन् । सबैले सशस्त्र द्वन्द्वका त्रममा अभिभावक गुमाएका हुन् ।

उनीहरूलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान चलाएको हो, जसअन्तर्गत उनीहरूलाई बालअधिकार, बालविवाह, यौनहिंसा, महिनावारीमा सरसफाइ, वित्तीय साक्षरता, आत्मरक्षाजस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ ।

‘यो आत्मविश्वास बढाउने अभियान हो, दैनिक जीवनमा आवश्यक पर्ने सीप दिएर उनीहरूलाई स्मार्ट बनाइन्छ,’ उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले भने, ‘सबै सीप सिकाएपछि उनीहरूलाई स्मार्ट छोरीको लोगो दिन्छौं ।’ द्वन्द्वमा अभिभावक गुमाएका छोरीमा बढी समस्या भएकाले अन्य कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए । स्वास्थ्य जाँचलगायत कार्यक्रममा ध्यान दिइने दाहालको भनाइ छ ।

स्मार्ट छोरीको कक्षा लिएपछि आत्मबल बढेको १० कक्षा अध्ययनरत कल्पना अधिकारीले बताइन् । कालिकोटको भर्ता गाउँपालिका–३, गोठीमुलाकी अधिकारीले द्वन्द्वमा बुबा नैनराजलाई गुमाएकी थिइन् । आमाको अन्तै विवाह भयो । घरमा एक्ली भएपछि उनी ०७० सालदेखि आवासीय विद्यालयमा छिन् । आफूलाई बलियो बनाउन स्मार्ट छोरी कक्षाले सहयोग गरेको उनले बताइन् । ‘हाम्रो अधिकांश समय छात्रावासमै बसेर बित्छ, बाहिरी कुरा त्यति सिक्न पाइँदैन, घरमा पनि कोही छैनन्,’ उनले भनिन्, ‘अहिले आत्मविश्वास बढेको छ, केही गर्ने इच्छा जागेको छ ।’

रोल्पाको लिबाङ नगरपालिका–१०, भाबाङबाट आएकी भावी पुन मगर पनि स्मार्ट छोरी बन्न पाएकामा खुसी छिन् । ९ कक्षामा अध्ययनरत पुन पाँच वर्षअघि दाङ झरेकी हुन् । विद्यालयको नियमित पाठ्यक्रमबाहेक बाहिरी कुरा खासै सिक्न नपाएकी पुनले अहिले बालअधिकार, किशोरीका समस्या, आफूलाई आइपर्ने समस्या समाधान गर्ने उपाय सिकेर मनोबल बढाएकी छन् ।

उनले बुबा सुकबहादुर पुनलाई युद्धमा गुमाएकी थिइन् । आमाको दोस्रो विवाह भएपछि उनी एक्ली भएकी हुन् । ‘एक्लो भएकाले कहिलेकाहीं निराश हुन्थें, केही गर्न सक्दिनँजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले छोरीमा पनि क्षमता छ भन्ने विश्वास बढेको छ, भविष्यका सम्भावना धेरै छन् भन्ने लागेको छ ।’

सशस्त्र द्वन्द्वले दिएको पीडा बिर्संदै जीवनमा नयाँ काम गर्ने आत्मविश्वास बढदै गएको जुम्लाको तिला गाउँपालिका–२, राराहिलकी चाहना परियारले बताइन् । उनले द्वन्द्वकालमा बुबा जैदुनी दमाईलाई गुमाएकी थिइन् । आमाको अन्तै विवाह भएपछि घरमा रेखदेख गर्ने कोही भएन । त्यसपछि उनी तनावमा थिइन् । अहिले तनाव व्यवस्थापनलगायत छोरीको शक्तिबारे प्रशिक्षण पाएपछि आत्मबल बढेको उनले बताइन् । ‘पहिले आफू कमजोरजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले धेरै आँट आएको छ । भविष्यमा गायिका बन्ने लक्ष्य छ ।’

१० वर्षे सशस्त्र द्वन्द्वमा अभिभावक गुमाएपछि समस्यामा परेका १६ जिल्लाका बालिका विद्यालयमा आवासीय रूपमा अध्ययन गरिरहेको प्रधानाध्यापक नारायण पौडेलले बताए । ‘घरायसी समस्याका कारण निराश हुने बालिकालाई आत्मबल र हौसला दिने कार्यक्रम निकै जरुरी छ,’ उनले भने ।

दुर्गालाल केसीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: