२०७६ असोज १ गते

राज्य प्रति यस्तो छ अपांगता भएका विद्यार्थीको गुनासो

महेश न्यौपाने/रोल्पा



अपांगता भएका विद्यार्थीहरुले राज्यबाट उपलव्ध सेवा सुविधा अपुग हुँदा आफुहरुको अध्ययन कार्य प्रभावित भएको गुनासो गरेका छन्  । शारिरीक तथा मानसिक रुपमा आफुहरु अन्य मानिस भन्दा फरक रहेकाले राज्यले आफुहरुमाथि थप लगानी गर्नुपर्ने उनीहरुको भनाई छ ।
 
विद्यालयमा अध्ययन गरिने सामाग्री नै आफुहरुका लागि फरक चाहिने भएपनि त्यस्ता सामग्री खरिदमा नै आवश्यकता अनुसारको बजेट विनियोजन नभएको उनीहरुले गुनासो गरेका हुन् ।  एकपटक खरिद गरिएको सामग्रीबाटै लामो समय काम चलाउनु पर्ने वाध्यता छ, अपांगता भएका विद्यार्थी लोकेन्द्र महराले भने ।

स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नभए यस्ता कक्षा सञ्चालनमा कठीनाई  हुने महराले बताए । सरकारले अध्ययन र बासका लागि प्रति विद्यार्थी प्रति महिना चार हजार र औषधोपचारका लागि थप एक हजार दुई सय उपलव्ध हुदै आएको भए पनि सो रकम अपुग भएको महराले बताए ।

सामानको मूल्य आकाशिएको छ राज्यले उपलव्ध गराउने वजेट भने निकै कम छ, महराले भने । औषधोपचारका लागि प्राप्त हुने वजेट पनि निकै कम भयो महराले भने ।

कक्षा सञ्चालनका लागि आवश्यक अपांगमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तक लगायत विद्यार्थीहरुको सेवा सुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायहरुसँग आग्रह समेत गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय तहले अपांगता भएका विद्यार्थीहरुलाई विशेष ढंगले हेर्नु पर्ने उनीहरुले आग्रह गरेका छन् ।
 
अपांगता भएका विद्यार्थीहरुले उचित वातावरणमा अध्ययन गर्न नपाएको अपांग विद्यार्थी चित्रवहादुर डाँगीले गुनासो गरे । अपांगमैत्री कक्षा कोठाको अभावका साथै पाठ्यसामग्री, सहयोगी सामग्री  तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छौं, डाँगीले भने ।
   
 विशेष कक्षाका लागि सरकारी स्तरवाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नु पर्ने बाध्यता हुन सक्ने विशेष कक्षा शिक्षक ओम सेनले बताए । उनीहरुका लागी आवश्यक सुविधा र श्रोत साधनको अभाव छ सेनले भने । थप दिगो र व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्न श्रोत शिक्षक सेनले आग्रह गरे ।

रोल्पामा २०६० सालदेखि दृष्टिवीहिन, सुस्तश्रवण तथा बहिराहरुका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण नमूना मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गरेका छन् ।


Comments: