• विद्यार्थीलाई सफा र सुन्दर बनाउने काइदा !
    (राजन रावत/हुम्ला)


  • विद्यार्थीहरुले हप्ताभर एउटै विद्यालय पोशाक लगाउँदा फोहर हुने भएपछि उनीहरुको सफाइका लागि नयाँ जुक्ति निकालिएको छ । सिमकोट स्थित बालमन्दिर माविले विद्यार्थीहरुको सफाइ र सुन्दरताको लागि हप्ताको दुई दिन नयाँ पोशाकको व्यवस्था गरेको हो ।


    अब विद्यार्थीहरुले हप्ताको दुईदिन अनिवार्य रुपमा ट्रयाक सुट लगाउनै पर्ने भएको छ । सधैँ विद्यार्र्थीले एउटै विद्यालयको पोशाक लगाउदा फोहोर बढी हुने भएपछि यस्तो जुक्ति निकालिएको विद्यालयले जनाएको छ ।


    हप्ताको छ दिन विद्यालय सञ्चालन हुँदा विद्यार्थीहरुले एउटै विद्यालयको पोशाक लगाउँदा फोहोर देखिने भएपछि विद्यालयले निर्णय गरेर नै हप्ताको मंगलबार र शुक्रबार ट्रयाकसुट लगाउनु पर्ने निर्णय गरेको र त्यही अनुसार निर्णय कार्यान्वयन गरिएको विद्यालयका शिक्षक मधु बस्नेत शाहीले जानकारी दिए ।


    अभिभावकलाई पोशाक धुन पनि सहज हुने  र सबै विद्यार्र्थी समान देखिने पनि भएकाले यस्तो व्यवस्था गरिएको शाहीले बताए ।


    बाल विकास देखि कक्षा पाँचसम्मका विद्यार्र्थीहरुलाई निशुल्क र कक्षा छ देखि १० सम्मका विद्यार्र्थीहरुलाई केही रकम लिएर ट्रयाकसुटको व्यवस्था गरिएको  विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए ।


     जिल्लाकै धेरै विद्यार्र्थीहरु अध्ययन गर्ने मध्येपर्ने विद्यालयका रुपमा चिनिएको यस विद्यालयमा  चार सय पचास जना विद्यार्र्थीहरुले अध्ययन गरि रहेको प्रअ रोकायाले जानकारी दिए ।