• मदिरा सेवन गर्ने शिक्षकको एक महिनाको तलब चट् !
    (राजन रावत/हुम्ला)


  • शिक्षकहरुले मदिरा सेवन गरेर विद्यालय गए अब  एक महिनाको तलब जरिवाना तिर्नुपर्ने भएको छ । हुम्लाको एक गाउँ कार्य पालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयका शिक्षकहरुले मदिरा सेवन गरे एक महिनाको तलब जरिवाना गर्ने निर्णय गरेको हो ।

     मदिरा सेवनले समाजमा हिंसा बढाउनुका साथै काममा समेत बाधा सिर्जना गरेपछि कार्य पालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

     समाजमा झै झगडा मात्र होईन कार्यालयमामा काम गर्न समस्या र हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै जान थालेपछि ताँजाकोट गाउँ कार्य पालिकाको बैठकले पालिकाको क्षेत्र भित्र मदिरा सेवन गर्ने सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुलाई पहिलो पटकका लागि एक महिनाको तलव जरिवाना गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।

    मदिराले गर्दा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नहुने, पालिकाका कर्मचारीले काम गर्न नसक्ने र शिक्षकले बिद्यालयमा पठन पाठनमा ध्यान दिन छोडे पछि यो निर्णय गर्न कार्यपालिका बाध्य भएको र आगामी दिनमा सबैलाई लागु हुने उनले जानकारी दिए ।

     कार्यपालिकाको उक्त निर्णयलाई तत्काल सबै वडाहरुमा सर्कुलर गरिएको र  यसलाई प्रथम पटक भएको कारण जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई लागु गर्ने निर्णय गरिएको मल्लले स्पष्ट पारे ।

     दोस्रो पटक उनीहरु कसैले उक्त गल्ति दोहोर्याएमा विभागीय कार्बाही समेत गरिने निर्णय भएको र यसलाई पुर्ण रुपमा कार्यान्वयन गरिने अध्यक्ष मल्लले बताए।

     हाललाई यति भए पनि आगामी बजेट अधिवेशनबाट पालिकालाई नै मदिरा निषेधित क्षेत्रका रुपमा घोषणा गर्ने लक्ष्य अनुसार प्रथम चरणमा यो अभियान सञ्चालन गरिएको उनले बताए ।

     जरिवानाबाट उठेको रकमलाई सामाजिक कार्यमा लगानी गर्ने निर्णय पनि गाउँ कार्यपालिकाको बैठकले गरेको छ ।


     हुम्ला जिल्लाका सात मध्ये ताँजाकोट गाउँ पालिका मदिरा सेवन गर्नेका लागि जरिवाना गर्ने पहिलो गाउँपालिका भएको कारण यसको महिलाहरुले स्वागत गरेका छन् ।


      घर घरमा झगडा, महिला हिंसा, आर्थिक क्षति  भइरहेको बेला गाउँ कार्यपालिकाले निश्चित वर्गबाट मदिरा नियन्त्रणको प्रसाय गरेको कार्य स्वागत योग्य काम भएको  ताँजाकोट ३ की जना शाहीले बताइन् ।  पालिकाको यो निर्णयलाई सबै पहिलाहरुले सहयोग गर्ने उनले स्पष्ट पारिन् ।