२०७६ भदौ ५ गते

भूकम्प प्रतिरोधी विद्यालय भवनको निर्माण कार्य सम्पन्न

राजन रावत/हुम्ला


जिल्लामा नै पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । पछिल्लो समय विद्यालयलाई भूकम्पबाट सुरक्षित बनाउन यस्तो भवनको निमार्ण कार्यको सुरुवात भएको हो ।

सर्केगार्ड गाउँपालिका वडा नम्बर आठको बिकटको गाउँमा फुचामा गत बैशाख महिनामा सम्झौता भएको भए पनि योजनाले कार्यान्वयन भने साउन १ गते बाट पाएको थियो ।

 कक्षा पाँचसम्म अध्ययन हुने निलकण्ड प्राथमिक बिद्यालयमा एक सय चालीस जना विद्यार्थीहरुले अध्ययन गर्दै आएको भए पनि कक्षा कोठाको अभाव हुँदा धेरै ठाउँमा भवन निर्माणका लागि  माग गर्दा पनि कतै सुनुवाई नभएको अबस्थामा गुड नेवर्स इन्टरनेसनल नेपाल (जिएनआई ) को आर्थिक सहयोग र किर्डाक हुम्लाको सहजिकरणमा यो काम संभब भएको स्थानीय धर्मजित बुढाले बताए ।

 जिल्लामा नै पहिलो आरसिसि पिलर भएको भूकम्प प्रतिरोधी भवन तयार भएको छ । कुल  लागत सैतीस लाख ८६ हजार ३५१ मध्ये जिएनआईको ३१ लख ४७ हजार ३७६ लगानी भएको र समुदायको जनश्रमदान छ लाख ३८ हजार ९७५ रुपियाँ रहेको जिएन आईका जिल्ला सुंयोजक मन कुमार राईले बताए । भवन निक्कै स्तरीय र डिजाईन अनुसार निर्माण भएको र फागुन २ गतेबाट सुरु भएको यसै शैक्षिक सत्रबाट भवन संचालनमा आउने उनले बताए ।


Comments: