२०७६ माघ ८ गते

इसिडि शिक्षकको माग प्रति शिक्षक संगठनहरुको एक्यबद्धता

ईपाटी संवाददाता/काठमाडौं



प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुको माग प्रति शिक्षक महासंघ सँगै शिक्षकका विभिन्न संघसंगठनहरुले एक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक महासंघ र त्यसमा आबद्ध शिक्षक संघसंगठनहरुसँगै राहत शिक्षक र कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुले इसिडिका शिक्षकहरको माग प्रति एक्यबद्धता जनाएका हुन् ।


पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले आफूले शिक्षा नियमावली ल्याएर इसिडि शिक्षकको व्यवस्थापन गर्न खोजेपनि कर्मचारी प्रशासनका कारण नियमावली ल्याउन नसकेको बताए ।  इसिडि शिक्षकले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री पौडेलले इसिडि शिक्षकहरुको व्यवस्थापन शिक्षा ऐनको आठौं संशोधन अनुसार हुनुपर्ने बताए ।


 नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफ्ना मागहरु सरकार समक्ष राख्ने क्रममा इसिडि शिक्षकका मागहरु समेत समेटेकाले सुनाउदै ति माग प्रति महासंघ प्रतिवद्ध रहेको बताए ।


 एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षकहरुको माग सम्बोधन नहुने गरि आएका कुनैपनि शिक्षाका ऐन कानून आफुहरुलाई मान्य नभएको बताए ।  इसिडि शिक्षकको सेवाशर्तका लागि आउने  पुरक वजेटमा व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।


 अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष लक्षिराम शर्मा ढकालले इसिडि शिक्षकका हक अधिकार पुरा गर्न आफुहरुको संगठन प्रतिवद्ध रहेको बताए ।


त्यस्तै माध्यमिक शिक्षक संगठन हिस्टानका अध्यक्ष पुष्प न्यौपानेले शिक्षक महासंघले इसिडि शिक्षकका मुद्दा नबोकेकाले उनीहरु अन्यायमा परेको जिकिर गरे । यसैगरी राहत शिक्षक संगठनका अध्यक्ष खेम अधिकारीले इसिडि शिक्षकको माग प्रति आफ्नो संगठन प्रतिवद्ध रहेको बताए ।


उता, इसिडि शिक्षकहरुले भने  आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरे । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका हुन् । आफूहरुले कानूनी पहिचान र सुविधा माग गर्दै सरकारलाई गुनासो गर्न देशभरबाट काठमाडौंमा भेला भएका उनीहरुले सिंहदरवारले आफुहरुको पीडा नसुनेको आरोप लगाए । आफुहरुमाथि सरकारले हिंसा र श्रम शोषण गरेको भन्दै उनीहरुले बालबालिकाहरुलाई आफुहरुले भुलाएको र आफुहरुलाई सरकारले भुलाएको उनीहरुको आरोप थियो ।


बालविनोद मावि नहटोल ललितपुरकी ज्ञानु भट्टराइले इसिडि शिक्षकलाई सरकारले आधारभूत शिक्षक सरह सुविधा दिँदै दरवन्दी सिर्जना गरेर तत्काल स्थायी प्रक्रिया शुरु नगरे आफुहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइन् । बिहान साढे नौ बजेदेखि साढे चार बजेसम्म कक्षाकोठामा व्यस्त रहनुपर्ने बाध्यता सुनाउँदै चियाखाजा खाने समय समेत इसिडि शिक्षकले नपाउने गरेको उनको आरोप थियो । सरकारले स्थानीय तह र स्थानीय तहले सरकारलाई दोष देखाएर बीचमा आफूहरुमाथि चरम दमन गरिरहेको भन्दै भट्टराइले कम्युनिष्ट सरकार भएपनि पीडितको सुनुवाइ नभएकोमा आक्रोस व्यक्त गरिन् ।  शुरुमा बालबालिकालाई खेलाउ र भुलाउ बाट शुरु भएको इसिडि सिकाउ र टिकाउ हुँदै बिकाउ सम्म पुगेपनि आफुहरुको सुविधा भने ज्युकोत्युँ रहेको उनले गुनासो गरिन् ।


कञ्चनपुरकी इसिडि शिक्षक बिन्दु विष्टले आफूहरुले बालबालिकाको दिशापिसाब सफा गर्नेदेखि कक्षा १० सम्मका विद्यार्थीलाई पढाउँने भएपनि राज्यले तलब भने ६ हजार मात्रै दिएको गुनासो गरिन् ।  डोटेली भाषामा आफ्ना पीडा व्यक्त गरेकी उनले भनिन् – ’हाम्रो श्रम शोषण गरेर कसको ऋण तिर्दैछौ सरकार ?’ बालविकासमा पढाउन सुरु गरेको वर्षौं भएपनि सुविधा भने ६ हजार मात्रै रहेको उनले पीडा सुनाइन् ।


इसिडि शिक्षक संघर्ष समितिका प्रदेश नम्बर सातका अध्यक्ष रहेकी  रमा उपाध्यायले पनि सरकार आफैले करिब ३६ हजार बालविकास शिक्षकहरूको श्रमशोषण गरिरहेको आरोप लगाइन् । ‘राज्यको नजरमा सबै बराबर हुनुपर्ने भएपनि अन्य शिक्षक र इसिडि शिक्षकमा राज्यबाटै चरम् विभेद भएको छ ।’  उपाध्यायले भनिन्, ‘कि बालविकास खारेज गर्नुपर्यो होइन भने बाच्न पुग्ने सुविधा दिनुपर्यो ।’


झापाकी इसिडि शिक्षका चित्रा ओझाले सरकारले दिनभर काम गराएर ६ हजार सुविधा दिइ आफूहरुलाई अधकल्चो मात्रै बनाएको आरोप लगाइन् । बर्दियाका इसिडि शिक्षक मिना भण्डारी आवश्यकता नभए किन इसिडि सञ्चालन गरेको भन्ने प्रश्न गर्दै आवश्यकता भए सरकारले इसिडि शिक्षकको किन व्यवस्था गर्न नसकेको भन्ने आरोप लगाइन् ।


शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई विद्यालयतहमा गाभेपनि त्यसमा कार्यरत शिक्षकहरु भने मासिक ६ हजार न्यून तलवमा काम गर्न बाध्य रहँदै आएका छन् । त्यस्तै, विद्यालय तहमा गाभिएपनि उनीहरुलाई शिक्षक नभनेर सहयोगी कार्यकर्ता मात्रै भनिँदै आएको छ । सरकारले विद्यालय तह मानेपछि त्यसमा कार्यरत आफूहरुलाई शिक्षक भनिनुपर्ने र अन्य शिक्षक सरह सुविधा दिनुपर्ने उनीहरुको माग रहँदै आएको छ ।


गएको बैशाखमा दुई महिनाको तलव जोहो गरेर देशभरका इसिडिका शिक्षकहरु न्याय माग्दै सिंहदरवार आएका थिए । त्यति बेला उनीहरुले वजेटमा इसिडि शिक्षकको सुविधा बढाउन भन्दै खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई दवाव दिएका थिए । शिक्षा मन्त्री पोखरेललाई आजसम्म दर्जनौं पटक भेटेर इसिडिमा कार्यरतहरुको सेवासुविधाका बारेमा कुरा गरेपनि हालसम्म कुनै पहल नगरेको बालविकास संघर्ष समितिकी केन्द्रिय अध्यक्ष एवं श्री कृष्णा मावि बाँकेमा कार्यरत इसिडि शिक्षक कृष्णा थापा बताइन् ।  ‘गत साउनमा पनि आएर सिंहदरवार सँग न्याय मागियो तर हातपर्यो शुन्य ।’ उनले भनिन् ।

Comments: