• गाउँपालिकाद्वारा शिक्षाको बजेट बाँडफाँड
    (राजन रावत/हुम्ला)

  •          
    वार्षिक बजेटमा स्वीकृत शिक्षा क्षेत्रका लागि विनियोजित बजेट सिमकोट गाउँपालिकाले बाँडफाँड गरेको छ । सम्मानीकरण शिर्षकमा आएको बजेटबाट चालु आर्थिक वर्षका लागि सिमकोट गाउँपालिकाले साठी लाख बजेट विनियोजित गरेको थियो र सोही बजेटलाई गाउँ कार्यपालिका हुँदै गाउँ सभाबाट अनुमोदन भएको हो ।

    गाँउपालिकामा रहेका २२ वटा  प्रावि, आधारभुत र माविलाई सो बजेट बिनियोजित गरिएको शिक्षा इकाई संयोजक गंगा प्रसाद भट्टले बताए ।

    उक्त बजेटबाट बिशेष गरेर १२ जना शिक्षकको तलबमा बजेट बिनियोजित भएको छ भने विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामग्री मर्मत, घेरवार, मञ्च मर्मत, फर्निचर मर्मत, खेल मैदान निर्माण, शौचालय निर्माण, खानेपानी मर्मतमा बजेट खर्च गरिएको उनले बताए ।

    आवश्यकता धेरै भए पछि गाउँपालिकामा आएका मागलाई प्राथमिकताका आधारमा बजेट बाँडफाँड गरिएको भए पनि कुनै न कुनै शिर्षकमा सबै विद्यालयलाई सहयोग उपलब्ध गराईएको उनले बताए ।

    कुल बिनियोजित शिक्षा क्षेत्रको बजेटबाट एउटा विद्यालयलाई बढीमा सात लाख र कममा छत्तीस हजार बजेट बिनियोजित गरिएको छ । त्यसै गरि शिक्षा क्षेत्र कै सशर्ततर्फ आएको २८ लाख ७६ हजार बजेट पनि चार वटा माबि र एक वटा प्राविमा विज्ञान प्रयोगशाला, पुस्तकालय, सुचना प्रबिधि र खानेपानी निर्माणका लागि खर्च गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।