२०७६ असोज ३० गते

राहत शिक्षक र प्रहरीबीच सोमबार पनि झडप

ईपाटी संवाददाता


काठमाडौँ । स्थायीत्वको माग राख्दै आन्दोलित राहत एवं इसिडि शिक्षक र प्रहरीबीच सोमबार पनि झडप भएको छ । आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्ने क्रममा शिक्षक र प्रहरी बीच झडप भएको थियो ।


प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा आइतबार पनि बानेश्वरमा झडप भएको हो ।


माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्र भन्दै चोकमा पुग्नबाट रोकेको थियो । शिक्षकले जबरजस्ती प्रहरीले लगाएका काँढेतार भत्काएर अगाडि बढ्न खोजेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेको हो ।


आइतबारपनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको र केही शिक्षक घाइते भएको नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष खेमराज अधिकारीले शिक्षकहरुको प्रदर्शनमा प्रहरीबाट भएको धरपकडको बि।ोध गर्दै माग पुरा नभएसम्म निरन्तर प्रदर्शन गरिरहने बताए ।


मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक र ३६ हजार ईसीडी शिक्षक  कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।


संघीय शिक्षा ऐनमा स्वतः स्थायी हुने प्रावधान राख्नुपर्ने मागसहित देशभरका राहत र इसीडी शिक्षक राजधानी केन्द्रित आन्दोलनमा छन् ।

Comments: