• प्रदेश १ को शिक्षा बजेट : इसिडि शिक्षकको तलब वृद्धि, कर्मचारी आवासीय विद्यालय र एमविविएस ऋण
    (रोशन क्षेत्री गाउँले/काठमाडौं)


  • काठमाडौं । प्रदेश १ ले समग्र शिक्षा क्षेत्रकालागि रु. १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको प्रदेशको बजेट पेश गर्दै शिक्षा क्षेत्रकालागि रु. १ अर्ब २८ करोड बजेट विनियोजन गरेका हुन् ।


    प्रदेशले प्रारम्भिक बाल विकास केन्द्रका बाल शिक्षिकाहरु र महिला स्वाश्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्न रु. ५ करोड ५० लाख विनियोजन गरेको छ ।
    बजेटमा सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन रु. ४ करोड ५० लाख, निजामती कर्मचारी आवासीय विद्यालय नमुना आवासीय विद्यालय सञ्चालनका लागि रु. १ करोड, विद्यालयमा नर्सिङ सेवालाई थप विस्तार गर्न रु. २ करोड  विनियोजन गरेको छ ।


    प्रदेश १ को शिक्षा बजेटको पूर्णपाठ


    १.  प्राविधिक जनशक्ति विकासको महत्वपूर्ण साधन हो। मानव संशाधनको प्रक्षेपण गरी आवश्यक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि रु १६ करोड ५० लाख विनियोजन गरेको छ । मदन भण्डारी प्रोध्योगिक महाविद्यालयलाई सेवा विस्तार गर्न रु. १ करोड विनियोजन गरेको छ ।


    २.  उच्च पहाडी तथा हिमाली जिल्ला ताप्लेजुंग, पांचथर, तेहथुम, संखुवासभा र सोलुखुम्बुमा मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसहरु सञ्चालन गर्न शुरु गर्न रु. ५ करोड बजेट विनियोजन गरेको छु ।


    ३ . प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम सहित प्राविधिक शिक्षालयहरु रत्न कुमार वान्तवा प्राविधिक शिक्षालय इलाम, शैलजा आचार्य प्राविधिक शिक्षालय मोरङ्ग, उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, सुम्निमा प्राविधिक शिक्षालय भोजपुर र मौरगढी प्राविधिक शिक्षालय खोटाङलाई अनुदान उपलब्ध गराउन रु. ३८ करोड ६९ लाख विनियोजन गरेको छु ।


    ४. शिक्षालाई सूचना, संचार र प्रविधियुक्त बनाई शैक्षिक गुणस्तर सुधारमा जोड दिइनेछ । विद्यालय गुणस्तर सुधार अभियान सञ्चालनका लागि रु. १७ करोड विनियोजन गरेको छ । विद्यालयमा नर्सिङ सेवालाई थप विस्तार गर्न रु. २ करोड छुट्याएको छ ।


    ५.  प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन रु. ४ करोड ५० लाख बजेटको व्यवस्था गरेको छु ।


    ६. धनकुटामा निजामती कर्मचारी आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिइनेछ । सम्भाव्यताको आधारमा प्रदेशमा सरकारी नमुना आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु गर्न रु. १ करोड विनियोजन गरेको छु ।


    ७. गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभ रुपमा ऋण उपलब्ध गराउने उद्देश्यले स्थापित जनता चिकित्सा शिक्षा कोषलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छ । यो कार्यक्रमलाई प्रदेशका सबै स्थानीय तहबाट एक एक जना चिकित्सक उत्पादन नभएसम्म निरन्तरता दिइनेछ।


    ८. उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्नका लागि महिला तथा विपन्न विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न रु ५० लाख विनियोजन गरेको छु । विद्यार्थी भर्ना अभियानलाई सशक्त बनाइ आगामी दुई वर्षमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनेछ । यसका लागि दलित, सीमान्तकृत समुदाय र दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा र पहाडका ८ जिल्लाका सामुदायिक विद्यालयका वालवालिकालाई टिफिन बट्टा उपलब्ध गराउने कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु । प्रारम्भिक बाल विकास केन्द्रका बाल शिक्षिकाहरु र महिला स्वाश्थ्य स्वमसेविकाहरु लाई प्रोत्साहन गर्न रु. ५ करोड ५० लाख विनियोजन गरेको छु।


    ९. युवा वैज्ञानिकहरुले गर्ने खोज अनुसन्धानको निम्ति युवा आविष्कार कोषको व्यवस्था गरेको छु । युवा उद्यमी र युवा आविष्कारलाई प्रोत्साहन गर्न मदन भण्डारी मानव संशाधन कोष स्थापना गरिनेछ । यसका लागि रु १ करोड विनियोजन गरेको छु।


    १०.  समग्र शिक्षा क्षेत्रकालागि रु. १ अर्ब २८ करोड बजेट प्रस्ताव गरेको छु ।