२०७६ असोज २ गते

वैज्ञानिक बन्ने विद्यार्थीहरुलाई इतिहास घोकाउँदा शिक्षा कमजोर बन्यो : प्रधानमन्त्री

ईपाटी संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक बन्ने विद्यार्थीहरुलाई इतिहास घोकाउँदा शिक्षाको गुणस्तरमा सुधार आउन नसकेको बताएका छन् ।


'विद्यार्थीको रुची अल्वर्ट आइस्टाइन र अणु परमाणुमा हुन्छ हामी विद्यालयमा धरहरा कसले बनायो भनेर सिकाउँछौं र त्यसैको आधारमा मूल्यांकन गर्छौं '– प्रधानमन्त्री ओलीले भने,' हामी वैज्ञानिक बन्ने विद्यार्थीलाई इतिहासका आधारमा मूल्यांकन गरेर अयोग्य बनाइरहेका छौं ।'


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदनको मस्यौदा सार्वजनिक गर्न आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  खेलाडीलाई संगीत, संगीतकारलाई फुटबल, डाक्टरलाई कविता पढाउँदा सार्वजनिक शिक्षा धारशाही बन्दै गएको गुनासो गरे । विद्यालयहरुले विद्यार्थीको क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा उनको जोड थियो ।


'निजी विद्यालयहरुले पनि पैसा आइहाल्छ नि भनेर विद्यार्थी भर्ना गर्ने मात्रै होइन् विद्यार्थीको रुचीअनुसारको विषय नभए अर्कै विद्यालयमा लैजानुस् भनेर अभिभावकलाई सम्झाउनुपर्छ' –प्रधानमन्त्री ओलीले भने–'विद्यार्थीको रुची विनाका पढाइ गरी मनखुसी अयोग्य बनाइदिने  विद्यालय हामीलाई चाहीएको छैन ।' 


अहिले अलिकति पैसा हुने बित्तिकै कहाँ लगानी गर्ने भन्दा शिक्षा जस्तो भएको छ । अझ शिक्षाका कलेज खोल्नु पसल खोल्नु जस्तै बनेका छन् भन्दै ओलीले गुणस्तरहीन शिक्षाका कलेज धेरै हुँदा त्यहाँबाट उत्पादित शिक्षकको गुणस्तर समेत कमजोर बनेको टिप्पणी गरे ।


निजी विद्यालयहरुको व्यवस्थापनका लागि  तत्काल नियोजन नभइ योजना आवश्यक रहेको भन्दै ओलीले अब जनशक्ति प्रक्षेपणका आधारमा मात्रै शिक्षालयहरु व्यवस्थापन गरिने स्पष्ट पारे ।


शिक्षामा सुशासन र विकास आवश्यक रहेकोमा जोड दिँदै कुनक्षेत्रमा कति जनशक्ति आवश्यक छ अध्ययनका आधारमा विषय अध्ययन गराइनुपर्ने उनको भनाइ थियो । मुलुकमा एकातिर पर्याप्त दक्ष जनशक्ति आवश्यक रहेकोले त्यसको उत्पादन गर्नुपनि परेको र  अर्कोतिर साक्षरता र भर्ना अभियान पनि सञ्चालन गर्नुपरेको अवस्था चित्रण गर्दै ओलीले समाजवादी र साम्यवादी शिक्षाको शव्दको खेलमा नलागी सवैपक्ष दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।


'एकातिर दक्ष जनशक्ति उत्पादन गर्नुछ, अर्कोतिर बालबालिकालाई विद्यालय ल्याउनुछ, टिकाउनुछ, गुणस्तरीय शिक्षा दिनुछ, समृद्धिमा लगाउनुछ'– ओलीले भने– 'यो एकाध अभियानबाट सम्भव छैन, यसकालागि समग्र राष्ट्रिय शिक्षा नीति र योजना परिचालन हुनुपर्छ ।'


मानव मस्तिष्कमा रहेको असाधारण क्षमता विकास गर्न सक्ने शिक्षा प्रकृतिभित्रको पोटेन्सियल बुझ्न र थाहापाउन सक्ने सक्ने मानवीय पोटेन्सियलको विकास गर्नु नै सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

Comments: