२०७६ भदौ २ गते

शिक्षक संघको प्रतिनिधिसभा शुरु, शिक्षकहरुको भुमिका परिवर्तनमा जोड

ईपाटी संवाददाता


काठमाडौं । नेपाल शिक्षक संघको २० औं संघीय प्रतिनिधि सभा शुरु भएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सभाको उद्घाटन गरेका हुन् ।


तीन दिनसम्म सञ्चालन हुने संघको संघीय प्रतिनिधि सभामा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले अब शिक्षकहरुको भुमिका परिवर्तन हुनुपर्ने बताए । पहिले शिक्षकहरुले समाजमा राजनीतिक कार्यकर्ताको भुमिका पनि निर्वाह गरेपनि अब कक्षाकोठामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए ।


लोकतान्त्रिक प्राप्तिको आन्दोलनमा विगतमा शिक्षकहरुको ठूलो योगदान रहेको स्वीकार गर्दै  सभापति देउवाले शिक्षकहरुको सबै समस्या समाधान गरिदिएर शिक्षा सुधारमा केन्द्रित गराउनुपर्ने बताए । उनले सत्र थरीका शिक्षकलाई एउटै बनाउन अस्थायी, राहत शिक्षकका समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षकहरु समाजका बौद्धिक एवं सचेत वर्ग भएको बताए । समाजले शिक्षकलाई रोलमोडेल मान्ने गरेको भन्दै शिक्षकहरु पनि अब कर्मले रोलमोडेल बन्नुपर्नेमा पौडेलले जोड दिए ।


शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले उद्घाटन सत्रमा बोल्दै टुक्रिएर झुण्ड झुण्डमा आन्दोलन गर्दा शिक्षकहरुको माग पुरा हुन नसकेकाले नै एकीकृत महासंघको स्थापना गरिएको बताए ।


सरकारले महासंघलाई मात्रै चिन्ने भएकाले शिक्षकका टुक्रे आन्दोलनको कुनै अर्थ नभएको भन्दै अध्यक्ष थापाले सबै समूहलाई शिक्षक महास.घको एकीकृत आन्दोलनमा समाहित हुन आग्रह गरे ।


म्हासंघसँग भएको सहमति संघीय ऐनमार्फत अक्षरंश कार्यान्वयन हुनुपर्ने भन्दै भन्दै थापाले सरकारले अध्यादेश मार्फत ऐन ल्याएर भएपनि अस्थायी, राहत, इसिडि शिक्षक, विद्यालय कर्मचारीका माग पुरा गर्नुपर्ने बताए ।


शिक्षक संघका निर्वतमान अध्यक्ष केशव निरौलाले सबैखाले अस्थायी शिक्षकहरुको समस्या समाधानमा राज्यले तत्तपरता देखाउनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष राजेन्द्रराज पौडेलले प्रतिनिधि सभामा वर्षभरीको कामको समिक्षा, एकवर्षभित्रका शैक्षिक मुद्दाहरुको छलफल र आगामी संघको दिशाबोध हुने बताए । विगतका प्रतिनिधि सभामा पेशागत आन्दोलन र अधिकारका पक्षमा छलफल हुनेभएपनि यसपटकको सभामा शिक्षकको कर्तव्य र गुणस्तरीय शिक्षाको विकासका बारेमा छलफल र बहस हुने अध्यक्ष पौलेलले बताए ।


नेपाल शिक्षक संघ २०४७ बैशाख ३० गते स्थापना भएसँगै महाधिवेशनको अर्कोवर्ष प्रतिनिधि सभा आयोजना हुँदै आएको छ । प्रतिनिधि सभाले नवनिर्वा्चित कार्यसमितिले एवर्षमा गरेका कामकार्बाहीको मूल्यांकन र आगामी वर्षको कार्यनीति तय गर्ने गर्दै आएको छ । प्रतिनिधि सभामा देशभरका ६ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।


Comments: