• राहत शिक्षकलाई आन्दोलन छाडेर कक्षाकोठामा फर्कन शिक्षा मन्त्रालयको आग्रह
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा इसिडि  शिक्षकहरुलाई तत्काल आन्दोलन छाडेर कक्षाकोठामा फर्कन आग्रह गरेको छ । मन्त्रालयले आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।


    वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न मन्त्रालयले आग्रह गरेको हो ।


    शिक्षकले पठनपाठनमा अवरोध गर्न नहुने भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारी बहन गर्न आग्रहसमेत  गरेको छ ।

    निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराएको हो ।


     मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको जनाइएको छ । विज्ञप्तिमा विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित भएर आन्दोलित नहुन सम्बन्धित पक्षलाई आह्वान पनि गरिएको छ ।

    'व्यापक सहभागिता, छलफल र सबैको सुझावहरूलाई समेटी मन्त्रालय हाल शिक्षा विधेयक तर्जुमा गर्ने प्रक्रियामा रहेको छ । ऐन निर्माण प्रारम्भिक चरणमा रहेकै अवस्थामा विभिन्न विषयहरूमा आधारित रहेर आन्दोलनका कार्यक्रमहरू नगर्न पनि मन्त्रालय हार्दिक अपिल गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।


    साथै आम अभिभावकहरूको सर्वाधिक चासोको विषय रहने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा दश– एसइइ) नजिक आइरहेको परिवेशमा परीक्षा निर्वाध सञ्चालन हुने वातावरणसहित आवश्यक सहयोग पुयाई आफ्ना जिम्मेवारी बहन गर्न पनि मन्त्रालय सबैमा अनुरोध गरेको छ ।


    'संविधानतः विद्यालय शिक्षा स्थानीय तहको माहतहतमा रहेको अवस्थामा आ–आफ्ना स्थानीय तहभित्र सञ्चालित विद्यालयहरू सुचारु रूपबाट सञ्चालन हुने वातावरणका निम्ति आवश्यक पहलकदमी लिइदिन पनि सम्पूर्ण स्थानीय सरकारहरूलाई यस मन्त्रालय विशेष अनुरोध गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।