२०७७ जेष्ठ १८ गते

‘रकम पचाउन’ दोहोरो खर्च

पाल्पा । शिक्षा समितिमा बर्सेनि विद्यालय, शिक्षक र विद्यार्थीबाट ठूलो परिमाणमा रकम उठ्छ । तर, उक्त रकम सरकारले अलग्गै बजेट छुट्याएको शीर्षकमै खर्चिएर सक्ने गरिएको पाइएको छ ।

स्थानीय भत्ता, महँगी भत्ता, अन्य भत्ता, पानी तथा बिजुली, सञ्चार महसुल, इन्धन, सञ्चालन, मर्मत तथा सम्भार, कार्यालयसम्बन्धी छपाइ, अनुगमन तथा मूल्यांकन, भ्रमण खर्च, विविध खर्च शीर्षकमै समितिको रकम सक्ने गरिएको हो । शिक्षा समितिको २०७१र७२ र ०७२र७३ को खर्चमा यी सबै शीर्षक दोहोरिएको पाइन्छ ।


अघिल्लो आवमा पूर्ण साक्षर जिल्ला घोषणामा मात्रै शिक्षाले २ लाख २९ हजार खर्चिएको छ । शिक्षा विभागबाट विनियोजित बजेटको बाँडफाँड र खर्च गर्ने अख्तियारीको पत्रमा सबै शीर्षक दोहोरिएको देखिन्छ । शिक्षा समितिको वार्षिक १७ लाख रुपैयाँ सोही शीर्षकअन्तर्गत दोहोरो भुक्तानी भएको हो ।

जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले भने विभागले पठाउने खर्चले नधानेपछि समितिको रकम खर्चनुपरेको दाबी गरिन् । विभागले मितव्ययिता, पारदर्शिता, दक्षता, उपयोगिता र कार्यकुशलतापूर्वक खर्च गर्न भन्दै ०७२/७३ का लागि तलबबाहेक १० लाख ५५ हजार रुपैयाँ निकासा दिएको छ ।

दुई वर्षअघि स्थायी नियुक्ति लिने शिक्षकसँगसमेत रकम उठाएपछि कार्यालय विवादमा मुछिएको थियो । शिक्षाका सूचना अधिकारी महेन्द्र सुवेदीले समितिको रकम दुरुपयोग गरिएको नभई अपुग ठाउँमा खर्चिउने गरिएको बताए । ‘विभागले पठाएको पैसाले भत्ता, इन्धन लगायतमा पुग्दैन,’ उनले भने, ‘त्यसलाई मिलाएर खर्च गर्ने गरिएको हो ।’ कान्तिपुरमा खबर छ ।

Comments: