२०७६ कार्त्तिक ३ गते

कर्णाली प्रदेशको बजेटमा शिक्षा : प्रदेश पाठ्यक्रम, स्वयंसेवक शिक्षक र छोरीबुहारी छात्रवृत्ति

रोशन क्षेत्री गाउँले/काठमाडौं



काठमाडौं । कर्णाली प्रदेशले प्रदेशको आफ्नै पाठ्यक्रम, स्वयंसेवक शिक्षक नियुक्ति र छोरीबुहारी छात्रवृत्तिलगायत कार्यक्रम सहितको शिक्षा वजेट सार्वजनिक गरेको छ ।


आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्दै  आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले कर्णालीको मौलिक विशेषता सहितको नैतिक, व्यवसायिक र वैज्ञानिक शिक्षा सम्बन्धी जीवनोपयोगी नयाँ पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेका हुन् ।


वजेटमा प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि पर्वतीय विज्ञान तथा प्रविधि  विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्य प्रारम्भ गर्न रु. १ करोडको व्यवस्था गरिएको छ । यसैगरी प्राविधिकजनशक्ति उत्पादन गर्न एक जिल्ला एक बहुप्राविधिक शिक्षालय स्थापना तथा प्राविधिक उच्च शिक्षा सञ्चालन गर्ने क्याम्पसको भौतिक सुधारका लागि रु. ११ करोड वजेटको व्यवस्था गरिएको छ ।

वजेटमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोट जिल्लामा आवासीय विद्यालय स्थापना गर्न रु. ३ करोड ७५ लाख विनियोजन गरिने, सबै स्थानीय तहमा साधन स्रोत र प्रविधियुक्त नमूना विद्यालयको रुपमा विकास गर्नरु. ३९ करोड ५० लाख विनियोजन गरिने र दुईवर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने गरी आवश्यक वजेटको विनियोजन गरिने उल्लेख छ ।  ।

दरबन्दी नभएका र विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालयहरुमा सम्बन्धीत विषय शिक्षण सिकाइ तालिम प्राप्त स्नातकहरुलाई स्वयंसेवकको रुपमा सेवा लिन कर्णाली विकास सेवा लागु गरिने र सोका लागि रु. २ करोड ९३ लाख वजेट विनियोजन गरिएको छ ।


अभिभावक वीहिन बालबालिकाको शिक्षा र संरक्षकत्व प्रदान गर्न प्रदेश राजधानीमा बालग्रामको निर्माण, कृषि क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादनकालागि रुकुम पश्चिममा कृषि विज्ञान प्रतिष्ठान स्थापना र सुर्खेतमा प्रदेश पुस्तकालय स्थापना गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।


प्रदेश सरकारले बजेटमा पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब २० करोड बजेट छुट्याएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई १ अर्ब २९ करोड, खानेपानी क्षेत्रमा १ अर्ब ३८ करोड ३५ लाख र सिँचाइ क्षेत्रमा १ अर्ब ७० करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सडक सुविधान नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिन १ करोड ५० लाख बजेट छ ।


कर्णाली प्रदेश शिक्षा वजेटको पूर्णपाठ



१. समाजलाई सकारात्मक रुपमा बुझ्ने, जीवनका उज्याला पक्षहरु देख्न सक्ने र राम्रा कार्यहरुको अगवाई गर्न सक्ने नागरिक तयार गर्नका कर्णालीको मौलिक विशेषता सहितको नैतिक, व्यवसायिक र वैज्ञानिक शिक्षा सम्बन्धी जीवनोपयोगी नयाँ पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने ।


२. प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि पर्वतीय विज्ञान तथा प्रविधि  विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्य प्रारम्भ गर्न रु. १ करोडको व्यवस्था गरिएको छ ।


३. प्राविधिकजनशक्ति उत्पादन गर्न एक जिल्ला एक बहुप्राविधिक शिक्षालय स्थापना तथा प्राविधिक उच्च शिक्षा सञ्चालन गर्ने क्याम्पसको भौतिक सुधारका लागि रु. ११ करोड वजेटको व्यवस्था गरिएको छ ।


४. छरिएको बस्ती, भौगोलिक विकटता, मौसमी बसाईसराई, गरिबी जस्ता कारण विद्यालय छोड्ने र पढाइमा बाधा पुग्ने अन्त्य गरी सर्वसुलव शिक्षाको अवसर प्रदान गर्न डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोट जिल्लामा आवासीय विद्यालय स्थापना गर्न रु. ३ करोड ७५ लाख विनियोजन गरिने ।


५. सबै स्थानीय तहमा विद्यालय मर्जरलाई प्रोत्साहित गर्दै कम्तिमा एउटा विद्यालयलाई साधन स्रोत र प्रविधियुक्त नमूना विद्यालयको रुपमा विकास गर्ने व्यवस्था मिलाएको छु । यसका लागि रु. ३९ करोड ५० लाख विनियोजन गरिने ।


६. विद्यालय भवन लगायत भौतिक पूर्वाधार विकास दलित छात्रावास निर्माण, नमूना बालविकास तथा विशेष शिक्षा सञ्चालित विद्यालयको भौतिक सुधारका लागि आवश्यक वजेटको प्रवन्ध गर्ने ।


७. उच्च शिक्षालाई गुणस्तरीय, रोजगारमूलक र जीवनउपयोगी बनाउनका लागि प्रदेशका विभिन्न क्याम्पसहरुलाई आवश्यक पूर्वाधार, प्रविधि र शैक्षिक सामग्रीका लागि रु. ४ करोड ८० लाख वजेट विनियोजन गरिने ।


८. नेपाल सरकार र स्थानीय तहहरुको समन्वयमा आगामी दुईवर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने गरी आवश्यक वजेटको विनियोजन गरिने ।
९. माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर रेडक्रस, नेपाल स्काउट र राष्ट्रिय सेवा दलमा आवद्धताका लागि समन्वय गर्न आवश्यक वजेटको प्रवन्ध गरिने ।


१०. जनशक्ति विकासमा जोड दिन जेहेन्दार विद्यार्थीलाई छोरीबुहारी छात्रवृत्ति र गरिब, दलित, अपाङ्गता, जेहेन्दार तथा दूर्गमका विद्यार्थीका लागि उच्चशिक्षामा छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने ।


११. कर्णाली प्रदेशका जेहेन्दार विद्यार्थीलाई अध्ययन पश्चात् आफ्नो प्रदेशमा निश्चित अवधि सेवा गर्ने गरी कृषि र पशुविज्ञान, चिकित्सा तथा इञ्जिनियरिङ विषयको अध्ययन सम्बन्धी सेवा–शर्त छात्रवृत्ति कार्यक्रमको लागि आवश्यक वजेटको व्यवस्था मिलाइने ।


१२. दरबन्दी नभएका र विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालयहरुमा सम्बन्धीत विषय शिक्षण सिकाइ तालिम प्राप्त स्नातकहरुलाई स्वयंसेवकको रुपमा सेवा लिन कर्णाली विकास सेवा लागु गरिने र सोका लागि रु. २ करोड ९३ लाख वजेट विनियोजन गरिने ।


१३. अभिभावक वीहिन बालबालिकाको शिक्षा र संरक्षकत्व प्रदान गर्न प्रदेश राजधानीमा बालग्राम निर्माणका लागि आवश्यक वजेटको व्यवस्था मिलाइने ।


१४. कृषि क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादनकालागि रुकुम पश्चिममा कृषि विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालन गरिने ।


१५. सुर्खेतमा प्रदेश पुस्तकालय स्थापना गर्न आवश्यक वजेटको व्यवस्था गरिएको ।


१६. अल्पसंख्यक मुस्लिम समुदायलाई प्रोत्साहित गर्न सुर्खेत र सल्यानमा मदरसा विद्यालय भवन निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।  

Comments: