२०७६ कार्त्तिक ६ गते

ताला फोडेर फिजिक्स विषयको परीक्षा सञ्चालन

अन्तैबाट

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्र विषयका विद्यार्थीले लगाएको ताला फोडेर परीक्षा सञ्चालन भएको छ । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश्न सोधिएको र शिक्षामन्त्रीले समस्या समाधान गर्न निर्देशन दिए पनि अटेरी गरेको भन्दै विद्यार्थीले ताला लगाएका थिए ।

विद्यार्थीले त्रिवि रेक्टर, रजिस्ट्रार, विज्ञान प्रविधि अध्ययन संस्थानको डिन कार्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग र परीक्षा शाखामा शनिबार ताला लगाएका थिए । तर, प्रशासनले ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । क्वान्टम मेकानिक्स विषयमा आइतबार हुने परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीले ताला लगाएका थिए ।

०७५ सालमा प्रश्नपत्र कोर्ष बाहिरबाट सोधिएको परीक्षा रद्द गरी नयाँ परीक्षा लिएर मात्र नियमित परीक्षा लिने व्यवस्था गर्न माग गर्दै विद्यार्थीले ताला लगाएका थिए । त्रिवि विज्ञान अध्ययन संस्थानले ५ असोजमा लिने नियमित परीक्षा रोक्न विद्यार्थीले ताला लगाएका हुन् ।

 एक वर्षसम्म विवाद
भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्स विषयको विवाद एक वर्षसम्म पनि टुंगिएको छैन । अघिल्लो वर्ष विद्यार्थीको विरोधपछि गठन भएको छानबिन समितिले स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्र विषयमा अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट सोधेको प्रतिवेदन दिएको थियो । छानबिन समितिले गरेको अध्ययनमा पुरानो पाठ्यक्रमअनुसारको अधिकांश प्रश्न कोर्ष बाहिरबाट सोधेको रिपोर्ट दिएको थियोे ।

अवकाशप्राप्त प्राध्यापकहरू सीतारामप्रसाद ब्याहुत, मुकुन्दमणि अर्याल र जीवनज्योति नकर्मिले दिएको प्रतिवेदनअनुसार पुरानो पाठ्यक्रमअनुसारको प्रश्नपत्रमा प्रश्न बाहिरबाट सोधेको उल्लेख गरेको थियो । प्रतिवेदनअनुसार ४५ पूर्णांकमा पुरानो कोर्षमा अधिकांश अंकभारका प्रश्न बाहिरबाट सोधिएको उल्लेख छ । सो विषयको नतिजासमेत प्रकाशित भइसकेको छ । पुरानो परीक्षालाई वैध बनाउन डिन कार्यालयले नियमित परीक्षा सञ्चालन गर्न लागेको भन्दै केही विद्यार्थीले विरोध गरेका थिए ।

नयाँपत्रिकामा खबर छ ।

Comments: