• काठमाडौंका सबै विद्यालयको नाम नेपालीमा हुनैपर्ने, नत्र कारवाही गरिने
    (अन्तैबाट)

  • काठमाडौं  । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रुपमा नेपाली भाषामा नाम लेख्नुपर्ने भएको छ ।

    महानगरपालिका शिक्षा समितिको आइतबारको वैठकले यस्तो निर्णय गरेको हो । आफ्नो निर्णय नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने महानगरपालिकाले जनाएको छ । संविधानको धारा ७ को उप दफा (१) मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने भन्ने प्रावधान कार्यान्वयन गराउन यस्तो निर्णय गरिएको महानगरपालिका शिक्षा समितिका प्रमुख उपसचिव सिताराम कोइरालाले बताए ।

    हरेक विद्यालयले विद्यालय सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान अनिवार्य रुपमा गाउनुपर्ने र कक्षा शुरु हुनुभन्दा पहिले कक्षागत गीत पनि अनिवार्य रुपमा गाउन लगाउने निर्णय पनि वैठकले गरेको छ । उनका अनुसार महानगर भित्रका सवै विद्यालयले नेपाली भाषामा नाम लेखेको साइनबोर्ड र विद्यार्थीको परिचयपत्रमा उनीहरुको नाम अनिवार्य रुपले नेपाली भाषामै समेत लेख्नका लागि सवै विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।

    त्यस्तै आइतबारको वैठकले शैक्षिक सत्र २०७६ देखि लागु हुनेगरी नयाँ विद्यालय सञ्चालन तथा कक्षा थपका लागि निवेदन दिएका सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अनुगमन गर्दा आवश्यक पूर्वाधार पूरा भएको देखिएमा १ कक्षा थप हुने गरीे कक्षा थपको अनुमति दिने निर्णय पनि वैठकले गरेको छ ।

    कक्षा ११ मा विषय थपका लागि पेस भएका निवेदकको हकमा विद्यार्थी संख्या, हाल संचालन भइरहेको विषय, भौतिक पूर्वाधार र सम्भाव्यताका आधारमा अनुगमन गरी कामपा शिक्षा विभागले विषय थपका लागि अनुमति दिन पनि उनले बताए । कक्षा ११ र १२ संचालनमा रहेका विद्यालय वा कलेजले कक्षा १ संचालनका लागि माग गरेमा र मापदण्ड पूरा गरेमा त्यस्ता विद्यालयलाई सहकारी वा शैक्षिक गुठीमा सरकारको नीति अनुरुप प्रति शैक्षिक सत्र एउटा कक्षाको मात्र अनुमति दिनेगरी कक्षा १ देखि १२ सम्म संचालन गर्ने अवसर प्रदान गरिनेछ ।

    सूर्यप्रसाद पाण्डेले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।