२०७६ माघ १२ गते

हराए विद्यालयका खेल मैदान

ललितपुर ।  विद्यालयलाई विद्यार्थीको भविष्य तय गर्ने स्थल मानिन्छ । चाहे त्यो खेल, कलाकारिता होस् या पढाइ । विद्यालय जीवनमा खेल जगत्मा राम्रो गर्ने विद्यार्थी भविष्यमा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी बनेका कैयौं उदाहरण छन् । यसको उदाहरण हुन् इमाडोलकी राष्ट्रिय भलिबल खेलाडी नीलम बज्राचार्य । उनी पुल्चोकस्थित मदन स्मारक उच्च माविका २०४२ ब्याजकी विद्यार्थी हुन् । त्यतिबेला उनी र उनीपछिका ब्याजले वीरेन्द्र सिल्ड कपदेखि लिएर जिल्ला, उपत्यका, अञ्चल र राष्ट्रव्यापी हुने महिला भलिबल प्रतियोगितामा थुप्रै मेडल जितेका थिए । २०४३ मा नेपालबाट पहिलोपटक विदेशमा भलिबल खेल्न जाने महिला टिम बज्राचार्यकै ब्याजको थियो ।

‘पहिला विद्यालय परिसरभित्र र बाहिर थुप्रै खेलमैदान हुन्थे । प्रशस्त खेल्ने समय पनि हुन्थ्यो तर अहिले पहिलाको जस्तो विद्यार्थीलाई खेल्ने फुर्सद पनि छैन, खेलमैदान पनि पर्याप्त छैन,’ बज्रचार्य भन्छिन् । उनले आफ्नो ब्याजबाट अञ्जु श्रेष्ठ अन्तर्राष्ट्रिय भलिबलमा खेलाडी बन्न सफल भएको बताइन् । ‘अहिलेका विद्यालयको अवस्था हेर्दा दु:ख लाग्छ, न खेललाई प्राथमिकता दिइएको छ न खेलमैदान नै छ,’ उनले यसलाई सुधार गर्न पूर्वविद्यार्थीहरूको भेला आयोजना गर्ने योजना बताइन् ।

 

नीलमले पढेको मदन स्मारक विद्यालय त्यतिबेला २७ रोपनी क्षेत्रफलमा फैलिएको थियो । त्यसमध्ये १० रोपनीमा अहिले ‘बिजनेस कम्प्लेस’ बन्दै छ । पहिला प्राइभेट स्कुलले भाडामा लिएर समेत विद्यालयको फुटबल चौरमा प्रतियोगिता तथा अभ्यास गर्न आउने गरेको मदन स्मारक उच्च माविका प्रिन्सिपल गोविन्द पौडेल बताउँछन् । ‘विद्यालयमा प्रशस्त खेलका अतिरिक्त क्रियाकलाप हुन्थ्यो,’ उनले भने, ‘भलिबल मात्र नभई फुटबल, ब्याडमिन्टन, टेबुल टेनिस र लङ टेनिसको पनि प्रतियोगिता हुन्थ्यो ।’ उनले २०६४ यति खेलसम्बन्धी सम्पूर्ण क्रियाकलाप ठप्प भएको बताए । ‘विद्यालयमा अहिले पनि फुटबलबाहेक भलिबल, ब्याडमिन्टन, टेबुल टेनिसका लागि पर्याप्त ठाउँ छ,’ उनले भने, ‘विद्यार्थी कम भएकाले सदुपयोग गर्न सकेको छैन ।’

सातदोबाटोका प्रवीण राई फुटबल प्रशिक्षक हुन् । उनी कहिले सातदोबाटो एन्फा फुटबल क्लब ‘डी’ डिभिजनका खेलाडीलाई त कहिले निजी स्कुलका विद्यार्थीलाई प्रशिक्षण गराउँछन् । उनी पनि सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमका विद्यार्थी हुन् । उनी सम्झन्छन्, ‘अहिले पनि विद्यार्थी खेलप्रेमी छन् । तर विद्यालयमा खेलमैदान छैन ।’ उनले विदेशमा सबभन्दा बढी बजेट खेलकुदका लागि छुट्याउने गरेको बताए । ‘हाम्रो देशका विद्यालयका खेलकुद मैदानमा धमाधम बिजनेस कम्प्लेक्स बन्दै गएका छन्,’ उनले भने, ‘अहिले भएका जग्गाको सदुपयोग हुन सकेको छैन ।’ उनले खेल जीवनमा लागेका साथीहरू प्राय: विदेशमा भएको बताए ।

विद्यालय परिसरमा पहिला फुटबल चौर, ३ वटा भलिबल, ४, ८ र १२ सय फिटको रिले दौड, ज्याब्लिङ थ्रो (भाला फ्याँक्ने), फलामको डल्लो फ्याँक्नेजस्तो खेलकुद मैदान थियो । विद्यालयमा वार्षिक खेलकुद दिवस हुन्थ्यो । त्यतिबेला जितेका पुरस्कारहरूले प्रिन्सिपलको कोठा भरिएको छ । ‘प्रतियोगितामा सयांै संख्यामा पदक वितरण हुन्थ्यो,’ महेन्द्र आदर्श विद्याश्रमका प्रिन्सिपल कृष्णदत्त जोशीले सम्झिए, ‘विद्यार्थीहरूलाई उभिएर पुरस्कार दिन गाह्रो हुन्थ्यो । खेलकुद मन्त्रीहरू आउँथे । तर अहिले त्यो रौनक हराएको छ ।’

विद्यालयको कम्पाउन्ड ३२ रोपनीमा फैलिएको थियो । १६ रोपनीमा फैलिएको फुटबल र भलिबल ग्राउन्डमा अहिले बिजनेस कम्प्लेस बनिसकेको छ । कम्प्लेक्स भवन निर्माणका लागि ज्यापु कम्पनीले विद्यालयसँग ३२ वर्षका लागि वार्षिक ५ प्रतिशतका दरले रकम वृद्धि हुने गरी मासिक ६ लाख रुपैयाँमा ठेक्का पाएका थिए । अहिले विद्यालयमा भएको बास्केट बल, भलिबल कोर्ट पनि अस्तव्यस्त छ ।

लगनखेलस्थित नमुना मच्छिन्द्र उच्च माविका प्रिन्सिपल राधाकृष्ण महतले खेलकुदको विकास गर्न सरकारले योजना बनाई बजेट छुट्याउनुपर्ने बताए । ‘खेलकुदमा हुने खर्च विद्यालयको आन्तरिक स्रोतबाट बेहोर्न गाह्रो छ,’ उनले भने, ‘खेलाडीलाई सेवासुविधा र खेलकुद शिक्षकको दरबन्दीको व्यवस्था गर्नुपर्छ ।’ उनले राम्रोसँग एउटा खेलकुद प्रतियोगिता आयोजना गर्न लाखांै रुपैयाँ लाग्ने बताए । ‘आर्थिक अवस्था कम भएको विद्यालयले आयोजना गर्न गाह्रो पर्छ,’ उनले भने, ‘विद्यालयसँगैको ४ रोपनी क्षेत्रफलमा फैलिएको चौरको उपयोग गर्न दिएमा खेलकुदको विकास गर्ने योजना छ ।’

प्रमुख जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न विद्यालय सञ्चालक समितिले पहल गर्नुपर्ने बताए । ‘प्रत्येक साता विद्यालयले हिज्जे, वादविवाद, खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्छ,’ उनले भने, ‘यस्ता क्रियाकलाप नगरेका विद्यालयलाई गराउन बाध्य बनाउनुपर्छ । गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।’ उनले विद्यालय परिसरमा व्यापारिक प्रयोजनका लागि बनाइने भवनहरूलाई दुरुत्साहित गर्नुपर्ने बताए ।कान्तिपुरमा खबर छ ।

Comments: