२०७६ असोज १ गते

विद्यालय आउनजानमै बित्छ चार घन्टा

बैतडी ।  बैतडीको श्रीकोट गाविस ९ कलौनाका १४ वर्षीया रोशन गिरीलाई विद्यालय जान दैनिक चार घन्टा हिँड्नुपर्छ । गाउँमै माध्यमिक तहसम्मको विद्यालय नहुँदा उनलाई विद्यालय जान दुई घन्टा र फर्कन दुई घन्टा लाग्ने गरेको हो । ‘बिहान ८ बजे विद्यालयका लागि हिँड्नुपर्छ । चार बजे विद्यालयबाट फर्किंदा साँझ ६ बजे मात्रै घर आइपुगिन्छ’, उनले भने ।

श्रीकोटमै रहेको सनातन धर्म माविमा पुग्न कलौनाका विद्यार्थीलाई दैनिक चार घन्टा आवतजावत गर्दा पढाइमा नै समस्या हुने गरेको छ । ‘बिहान पनि विद्यालयमा कक्षा सुरु भएपछि मात्रै पुग्छु’, कक्षा ११ मा अध्ययनरत लक्ष्मी गिरीले भनिन्, ‘साँझ पनि हतारहतारमै घर पुग्नुपर्छ । विद्यालय आवतजावतमै चार घन्टा बितेपछि पढाइमा केको प्रगति हुनु रु ’

लक्ष्मी र रोशनजस्तै कलौनका ३० भन्दा बढी विद्यार्थी दैनिक चार घन्टा विद्यालय आवतजावतमै बिताउँछन् । नजिकमा माध्यमिक तहसम्मको विद्यालय नहुँदा बालबालिकालाई टाढाको विद्यालय धाउनुपरेको अभिभावक हेमराज गिरीले बताए । ‘कतिपय ठाउँमा आवश्यक नभए पनि विद्यालय सञ्चालन गरिएका छन् । तर खोल्नुपर्ने ठाउँमा कसैले विद्यालय सञ्चालन गर्न चासो दिँदैनन्’, उनले भने ।

कलौनाका विद्यार्थीलाई विद्यालय टाढा हुनु मात्र समस्या होइन, बर्खाको समयमा विद्यालय जानै नपाउने समस्या आइलागेको छ । गत ५ वर्षयता उक्त ठाउँका विद्यालयले बर्खाको समयमा विद्यालय जान नसकेको अभिभावक शिवराज गिरीले बताए । ‘बगडीगाड खोलाको पुल बगाएको पाँच वर्ष बितिसकेको छ’, उनले भने, ‘पुल बनाउन प्रत्येक वर्षको परिषद्मा राख्ने गरेका छौं, हाम्रो माग कसैले सुन्दैन । बर्खामा बाढी आउँछ । यसले विद्यार्थी विद्यालय जान पाउँदैनन् ।’

गत पुसमा सम्पन्न श्रीकोट गाविस परिषद्मा बाल क्लबकी अध्यक्ष सुन्नरी गिरीले पुल बनाउन रोएर आग्रह गरिन् । तर उनले भनेको कसैले सुने–नसुनेझैं गरे । अहिले पनि पुल बनाउने कुनै योजना पारित नगरेको गिरीले बताए । गाउँ परिषद्बाट छुट्ट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको स्थानीय बासिन्दाको आरोप छ ।

स्थानीय राजनीतिक दलले आफ्नो वडाका योजना मात्र परिषद् पारित गर्ने गरेका अभिभावक गोपाल गिरीको भनाइ छ । ‘माध्यमिक तहसम्मको विद्यालय तत्काल सञ्चालन गर्न नसके पनि खोलामा पुल निर्माण अघि बढाउन त सकिन्थ्यो । तर कसैले सहयोग गर्दैनन्’, उनले भने ।कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक , कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदारलगायत गाविसका विद्यार्थी अध्ययनरत छन् । अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: