२०७६ कार्त्तिक २७ गते

पाठ्यपुस्तकमा बेल विवाहदेखि वाग्मती सभ्यतासम्म

अन्तैबाट

काठमाडौँ । तल उल्लेखित गीत काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई तयार गरेको पुस्तकमा राखिएको छ । गीतमा नगरपालिकाको जातजाति, भाषा, सम्पदा, पर्यटकीयस्थल, जात्रा पर्व, धर्मलगायतलाई समेटिएको छ ।


जातजाति अनेकौं छन्, अनेकौं छन् भाषा,
गोकर्णेश्वर क्षेत्र हाम्रो मनमुटु साझा
सुन्दर शैल शिवपुरी तारेभीर ताज,
बागद्वार, सुन्दरीजल पर्यटनको राज
जात्रापर्व, मेला लाग्ने ऐतिहासिक क्षेत्र,
आराध्य छन् गोकर्णेश्वर शिव मानवभित्र
नगरपालिकालेआफ्नो नगर क्षेत्रको धार्मिक, पर्यटकीय स्थल, सम्पदा र चाडपर्वलाई समेटेर तयार पारेको पुस्तक नगरभित्रको १६ वटा सामुदायिक र ८७ वटा विद्यालयका विद्यार्थीले यही शैक्षिक सत्रदेखिअध्ययन गरिरहेका छन् ।

‘पुस्तकमा नगरपालिकाको सबै पक्षलाई चिनाउले खालका विषयवस्तु समेटेका छौं,’ नगरपालिकाको शिक्षा शाखा प्रमुख टेकेन्द्रप्रसाद ढकालले भने, ‘स्थानीय सम्पदा कला, धर्म संस्कृति,भाषा सभ्यता, चाडपर्व र प्राकृतिक सभ्यताको पहिचानलाईपाठ्यक्रममा पढ्न/बुझ्न पाइन्छ ।’ अन्य नगरपालिकाले स्थानीय पाठ्क्रम बनाउन सकेका छैनन् ।

पाठ्यपुस्तकलाई व्यावहारिक र जीवनोपयोगी बनाउन स्वास्थ्य, योग, वातारण, उत्प्रेरणामूलक पाठहरू समेत समावेश गरिएको गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले बताए । ‘यस्तापाठ्यक्रमबाट चरित्रवान् नागरिक तयार पार्न सहयोग पुग्छ,’ उनले भने । कक्षा १ को पुस्तकमा नगरको जाति, भाषा र वेशभूषा चिनाउन खोजिएको छ । यसबाहेक नगरपालिका रवडाको पहिचान हुने खालका विषयवस्तु छन् । नैतिक शिक्षालाई जोड दिने, स्थानीय जात्रापर्व, नाचलाई चिनाउने विषय पनि समेटिएको छ । नाता र सम्बन्ध र शिष्टाचार, धार्मिकसम्पदा, पेसा, पर्यटकीय क्षेत्रहरूलाई पनि कक्षा १ को पुस्तकमा राखिएको छ ।

कक्षा २ को पुस्तकमा शिष्टाचारको परिचय, आवश्यकता र महत्त्व, गोकर्णेश्वर क्षेत्रका रमाइला कुरा, घरेलु उद्योग, प्राकृतिक स्रोतसाधन, किराती भाषा र सभ्यता, बालबगैंचा, चामुण्डा देवी,नेपाली जाति र संस्कृति समेटिएका छन् । कक्षा ३ का पुस्तकमा गुरुङ संस्कृति, गाईजात्रा, सुन्दरीमाईको महत्त्व, रिन्छेन गुम्बा, खगेन्द्र नवजीवन, पर्यटकीय क्षेत्र वागद्वार, गुम्बा रगलैंचा उद्योगका विषय छन् । कक्षा ४ मा मुस्लिम धर्म, श्रावणीमेला, गाउँको धार्मिक परम्पराजस्ता सांस्कृतिक विषय छन् । शिवपुरी जलाधार संरक्षण क्षेत्र, सुन्दरीजलमा पानीबाटबिजुली र रमणीय मूलखर्कजस्ता पर्यटकीय क्षेत्र समेट्ने खालका विषयवस्तु छन् । नगरका स्वास्थ्य संस्थाबारे पनि यो पुस्तकमा विस्तृत पढ्न पाइन्छ । यसबाहेक देसे गाउँको धार्मिकपरम्परा, नेपाली भाषा, योग शिक्षा पनि कक्षा ४ को पुस्तकमा समेटिएको छ ।

कक्षा ५ को पुस्तकामा वाग्मती नदीको सभ्यता, सुन्दरपर्वत तारेभीर, सुन्दरीजल क्षेत्रको महत्त्व, सफारी पार्क र गल्फ मैदानका विषय समेटिएका छन् । त्यस्तै बौद्ध धर्म, बेल विवाह र बाबुको मुख हेर्ने दिन गोकर्णे औंसीका विषयलाई पनिमहत्त्व दिइएको छ ।

कक्षा ६ को पुस्तकमा नगरपालिकाको भौगोलिक स्थितिलाई समेटिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, सेतो गुम्बा, कान्तिभैरवको परिचय र पर्यटन विकासको सम्भावनाकाविषयवस्तु छन् । ल्होसार, कृष्णजन्माष्टमीजस्ता धार्मिक विषय पनि पुस्तकमा छ । फोहोर व्यवस्थापन, विद्यालयमा करेसाबारी, योग अभ्यासको महत्त्व पनि यो पुस्तकमा पढ्नपाइन्छ ।

कक्षा ७ को पुस्तकले गोकर्णेश्वरका प्राकृतिक सम्पदा, उत्तरगया धामको परिचय, गोकर्णेश्वर महादेव, कपन गुम्बा, स्मृति संग्रहालय, रामनवमीका विषय छन् । दुग्ध व्यवसाय, करेसाबारीतथा कौसीखेतीको महत्त्वका विषयवस्तु समेटिएको पुस्तक विद्यार्थीले पढिरहेका छन् । कक्षा ८ को पुस्तकमा वाग्मती सभ्यताको धार्मिक महत्त्व, बौद्धनाथको परिचय, बीपी संग्रहालय,होमस्टेजस्ता विषय छन् ।

वैदिक सनातन धर्म, बुद्ध जयन्ती, रक्षा बन्धनजस्ता धार्मिक सांस्कृतिक विषय पनि समेटिएका छन् । पुष्प व्यवसाय, गोकर्णेश्वर नगरपालिका व्यवस्थापनको संरचनाबारे पनि विद्यार्थीलेपढिरहेका छन् । रंगीन पुस्तकको कभरमा गोकर्णेश्वर मन्दिर र अन्तिम पानामा बौद्ध स्तूप राखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले निजीप्रकाशकले वार्षिक रोयल्टी तिर्ने गरी पुस्तक छापिएको बताए । ‘यस वर्ष सबै कक्षाका २४ हजार थान पुस्तक छापिएको छ,’ उनले भने ।

कान्तिपुरमा खबर छ ।

Comments: