• भवन अभावमा त्रिपालको भर !
    (राजन रावत/हुम्ला)

  • सर्केगार्ड गाउँपालिका–२ रिप स्थित  कोट प्राविमा भवन अभावमा विद्यार्थीहरु त्रिपालमा पठनपाठन गर्न बाध्य छन् ।  विद्यालय भवन जीर्ण भएपछि बालबालिकालाई त्रिपालमा राखेर पढाउन शुरु गरिएको विद्यालयले जनाएको छ ।


    विद्यालय भवन कामै नलाग्ने जीर्ण भएपछि विद्याथीृको सुरक्षाको लागि त्रिपाल टाँगेर पढाउँदै आएकोे विद्यालयका प्रधानाध्यापक प्रेम महतराले बताए । 'भएको भवन जीर्ण भयो, भत्काएर अर्को भवन बनाउन परेपछि त्रिपालमै भएपनि पढाइलाई निरन्तरता दिएका छौं'– प्रअ महतराले भने ।


    भएको भवनमा बस्नै नमिल्ने भएपछि भत्काइएको र आफूहरु त्रिपालमा बसेर पढिरहेको विद्यालयकीे कक्षा पाँचकी छात्रा जानकी फडेराले बताइन् । त्रिपालमा पढ्दा  गर्मी हुने गरेको र  र पानी परेका बेला पुरै रुझिने उनले बताइन् ।


    पुरानो भवन भत्काएर नयाँ भवन बनाउन समय लाग्ने भएकाले केही समय त्रिपालमै  डेस्कबेञ्च राखेर पठन–पाठन गर्नु विद्यालयको बाध्यता रहेको प्रअ महतराले सुनाए  


    एक सय साठी जना विद्यार्थी रहेको उक्त विद्यालयमा भवन कामै नलाग्ने गरी जीर्ण भएपछि एक करोड साठी लाखमा नयाँ विद्यालय भवन निर्माण भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वर्ष बहादुर फडेराले जानकारी दिए ।  पुराना भवन भत्काएर नयाँ बनाए पछि विद्यार्थीको पठन–पाठन चउरमा त्रिपाल टाँगेर भइरहेको खबर आएको प्रमुख फडेराले बताए ।