• जनशक्ति प्रक्षेपण कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
    (ईपाटी संवाददाता)


  • काठमाडौं । मानव संसाधन प्रक्षेपण कार्यदलले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।


    मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि  पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमवार साँझ बालुवाटरमा प्रतिवेदन बुझाएका हुन् ।  सरकारले गत असोज २८ गते डा. रुद्र सुवालको अध्यक्षतामा जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो । 


    कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने  जनशक्ति रोजगारीको सम्भवना बीचको तालमेल खोज्न सजिलो हुने बताए । ‘यस अघि गति मिहिन ढंगले यस प्रकारको अध्ययन भएको थिएन ।’ प्रधानमन्त्री ओलीले भने– ‘यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।’


     प्रधानमन्त्री ओलीले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने पनि बताए । ‘अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्ति बीच भेट हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने– ‘यस प्रतिवेदन मार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट विष्लेषण गर्नेछ ।’