२०७६ मंसिर २७ गते

चौथो 'कान्तिपुर हिसान एडु फेयर' शुरु, स्वदेशमै उत्कृष्ट कलेज छान्ने मौका

 


काठमाडौं । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराकासाथ चौथो 'कान्तिपुर हिसान एडु फेयर' राजधानीको भृकुटीमण्डममा बिहीबारदेखि शुुरु भएको छ ।


उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पव्लिकेशन्सको संयुक्त आयोजनामा स्वदेशमै स्तरीय शैक्षिक संस्था रहेको जानकारी गराउन मेला आयोजना गरिएको हो ।


चार दिनसम्म चल्ने उक्त शैक्षिक मेलाको बिहीबार हिसानका पूर्व अध्यक्ष, शिक्षा सचिव, विभिन्न विश्वविद्यालयका उप–कुलपति, रजिस्ट्रारहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, शिक्षामन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा, सुदुरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भुषण श्रेष्ठ, त्रिवि रजिस्ट्रार डिल्ली उप्रेती, त्रिवि रेक्टर सुधा त्रिपाठी तथा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार भोला थापाले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन् ।


‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ सुरु मेलामा विभिन्न प्लस टु कलेज, प्राविधिक शिक्षालय, विभिन्न इन्स्टिच्युटसँगै विभिन्न विश्वविद्यालयको समेत सहभागीता रहेको छ ।


उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले प्लस टुको शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । शिक्षामा निजी क्षेत्रको लगानीका कारण वर्षेनी करौडौं रकम विदेशिनबाट जोगिएको भन्दै श्रेष्ठले निजी क्षेत्रमैत्री नीति ल्याउन र निजी क्षेत्रलाई साझेदारका रुपमा अगाडि बढाउन आफू तयार रहेको बताए । उनले भने–अहिले प्लस टुमा जे जति शिक्षाको गुणस्तर बढेको छ त्यो सबै निजी क्षेत्रकै कारणले हो, सरकारको जिम्मेवारी हुँदाहुँदै निजी क्षेत्रले गरेको यो योगदानको कदर गर्नुपर्छ ।


त्यस्तै, त्रिविका उपकुलपति तीर्थ खनियाँले निजी क्षेत्रले प्लस टु शिक्षामा ठूलो योगदान गरेको बताउँदै निजी क्षेत्रलाई उपेक्षा गर्न नहुने बताए । उनले भने–'२०४६ सालपछि सरकारले लागू गरेको कार्यक्रममध्ये प्लस टु कार्यक्रम सबैभन्दा प्रभावकारी कार्यक्रम हो, जसलाई निजी क्षेत्रको ठूलो भूमिका छ ।'


कक्षा १० को परीक्षा सकाएर उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई लक्षित मेलामा विद्यार्थीले प्लस टु वा अन्य तहमा कुन विषय रोज्ने ? कस्तो कलेज रोज्ने ? विषय वा कलेज रोज्दा के कुरामा ध्यान दिनेलगायतका जानकारी उपलब्ध हुने आयोजक हिसानका अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।


एसईई सकाएर कलेज छनोटको चरण अन्योलमा रहेका विद्यार्थी तथा उनीहरुका अभिभावकलाई एउटै छाना मुनी विभिन्न कलेजहरुको उपस्थितीले कलेजबारे जानकारी हासिल गर्नका लागि एउटा अवसर भएको सिलवालले जानकारी दिए ।


उनले भने– 'यो मेला विद्यार्थीहरुका लागि अवसर हो, एउटै छाता मुनी धेरैभन्दा धेरै कलेजबारे जानकारी पाइने यो मेलाले विद्यार्थीका लागि उपयोगी हुने अपेक्षा गरेका छौँ ।'


मेलामा विभिन्न शैक्षिक संस्थाका १ सय १५ वटा स्टलहरु रहेका छन् । मेलामा विभिन्न कलेजको शिक्षाबारे जानकारीसँगै करिअर काउन्सिलङ समेत गरिने आयोजकले जनाएको छ । मेरिट बेसका आधारमा, विकट क्षेत्रका आधारमा विभिन्न कलेजहरुले छात्रवृत्ति समेत उपलब्ध गराएका छन् ।

Comments: