• गोदाममै थन्किए पाठ्यपुस्तक
    (अन्तैबाट)

  • कालिकोट । कालिकोटमा थोक बिक्रेताले समयमै ल्याएका पाठ्यपुस्तक गोदाममा थन्किएका छन्। जिल्लाका विद्यालयले समयमै नलिँदा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन ।

    चैत अन्तिममा पाठ्यपुस्तक ढुवानी गरे पनि विद्यालयले नलगेपछि थन्क्याउनुपरेको बिक्रेताले बताएका छन्। ‘हाम्रो स्टेसनरी पसल’को गोदाममा ३५ हजार ५ सय सेट किताब राखिएका छन्। चार विद्यालयले मात्र किताब लगेको पसल सञ्चालक राजकुमार शाहीले बताए। नरहरिनाथ गाउँपालिकाको दीपेन्द्र आधारभूत विद्यालय रुप्सा, शान्नित्रिवेणी गाउँपालिकाको अम्भिका आधारभूत विद्यालय रकु, विद्याज्योति मावि लुइयाटा र शुभकालिका गाउँपालिकास्थित जनता मावि छातीले जम्मा ६ सय ९५ सेट पुस्तक ढुवानी गरेका छन्।

    कालिकोटमा २ सय ९४ विद्यालय छन्। अझै २ सय ९० विद्यालय पाठ्यपुस्तक लिन आएका छैनन्। दुई स्थानीय तह नरहरिनाथले ७० प्रतिशत र शान्नित्रिवेणीले ६० प्रतिशत बजेट निकासा दिएका छन्। बाँकी सात तहले निकासा दिएका छैनन्।

    स्थानीय तहका प्रमुखले कर्मचारी अभावका कारण प्रशासनिक सेवा प्रभावित हुँदा बजेट भुक्तानीसमेत रोकिएको बताएका छन्। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पाठ्यपुस्तकको रकम निकासा हुन नसकेको बताए।

    यस्तै नयाँ शैक्षिक सत्र सुरु भए पनि मुगुका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। तीन स्थानीय तहले रकम निकासा नगर्दा समस्या भएको हो। खत्याड गाउँपालिकाले भने समयमै रकम निकासा गरेकाले पुस्तक विद्यालयमा पुर्‍याइएको छ। छायानाथ रारा नगरपालिका, सोरु र मुगुम् कार्मारोङ गाउँपालिकाले ढुवानी रकम निकासा गरेका छैनन्। तीन तहका ९७ विद्यालयका विद्यार्थी खाली हात छन्। रकम नपाउँदा पाठ्यपुस्तक ढुवानी नगरेको त्रिशक्ति स्टेसनरी सञ्चालक नृपेन्द्र मल्लले बताए।

    भर्ना भएसँगै विद्यार्थी पुस्तक किन्न दिनहुँ सदरमुकाम जाने गरेका छन्। तर, रित्तो फर्किने गरेको छायानाथ रारा नगरपालिका–४ का टेकबहादुर बुढाले बताए। जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेतमा चैत १६ देखि मुगुका सबैै विद्यालयका लागि पाठ्यपुस्तक तयारीमा राखिएका छन्। ए–वान सप्लायर्स मुगुले चैत १७ मा ढुवानी गरी खत्याड गाउँपालिकाका ४४ विद्यालयलाई पुस्तक वितरण गरिसकेको छ।

    रकमसहित आए जुनसुकै बेला पुस्तक ढुवानी गर्न सकिने जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेतका प्रमुख धनबहादुर केसीले बताए। जिल्लाभरका १ सय ४१ विद्यालयमा १६ हजार विद्यार्थी छन्।

    बिस्‍नप्रसाद न्याैपाने/  जीवन सेजुवालले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।