२०७६ भदौ ९ गते

घस्रिएरै १० कक्षा

अन्तैबाट

सल्यान  । छत्रेश्वरी गाउँपालिका ६, छाया क्षेत्रका नोखबहादुर सुनारको जन्मँदै कम्मरदेखि मुनिको भाग चल्दैन । २४ वर्षीय सुनारले घस्रिँदै भए पनि शारदा मावि शंखमूलबाट १० कक्षा पास गरे । उनी भन्छन्, ‘म एसईई गरी क्याम्पस पढ्न चाहन्छु, तर पढ्ने वातावरण छैन ।’


विद्यालय जाने क्रममा उनी थुप्रैपटक लडेर घाइते भए । तैपनि पढ्न छाडेनन् । बायाँ खुट्टाले काम नगर्ने र दायाँ खुट्टाले भर नपाउने हुँदा विद्यालय जान–आउन उनले निकै सकस झेल्नुपर्छ । ‘जति चोटपटक लागे पनि पढ्न छोडिनँ, बुवाआमाको चाहना पनि छोराले पढोस् भन्ने नै छ,’ उनले भने, ‘सजिलोसँग हिँडडुल गरी पढ्न पाउने भए कति राम्रो हुन्थ्यो ।’

आफ्नो उमेरका साथीहरू पढेर कसैले जागिर खाएका र कोही विदेश गएको देख्दा पढाइप्रति रुचि जागेको उनले बताए । ‘घरबाट विद्यालय नजिक भए पनि घर्संदै जाँदा ३ घण्टा लाग्थ्यो,’ उनले भने, ‘घर्संदै जाँदा खुट्टाको छाला खुइलिएर घाउ नै हुन्थ्यो ।’ बिहान ७ बजे खाना खाएर विद्यालय हिँड्ने गरेको उनले बताए ।

विद्यालय लैजान र ल्याउन कसैले सहयोग नगरे पनि पढाइ नछाडेको उनको भनाइ छ । पछिल्लो समय आउजाउमा थप समस्या देखिएपछि पढाइ अनियमित भई एसईईमा समस्या भएको उनले बताए । कम्तीमा प्लस टुसम्म अध्ययन गर्ने उनको अठोट छ । ५ कक्षा पढदासम्म उनी कक्षामा दोस्रो–तेस्रो आउँथे । समस्या बल्झिँदै जाँदा भने पछिल्लो समय पढाइमा पनि असर पर्‍यो । यही कारण एसईई पास गर्न नसकेको उनले बताए । अब पढ्ने वातावरण मिले एसईई दिने उनको तयारी छ ।

पढाइ पूरा गर्न नसके पनि उनी व्यवसायमा संलग्न छन् । घरमै मोबाइल मर्मत गर्ने पसल राखेका छन् । दुईमहिने मोबाइल बनाउने तालिम लिएपछि व्यवसाय सुरु गरेको उनले सुनाए । ‘आर्थिक अवस्था कमजोर भएकैले बुबाआमाले उपचार गर्न सक्नुभएन,’ उनले भने, ‘सहयोगी पनि कोही भेटिएनन्, उपचार नहुँदा मनको धोको मनमै मर्दो रहेछ ।’ नोखबहादुर फुर्सदको समयमा विभिन्न किसिमका किताब पढ्छन् ।

अपांगता भएका व्यक्तिलाई गाउँ–समाजमा अवहेलना गरेको उनलाई मन पर्दैन । अवसर र वातावरण पाए सबलाङ्ग सरह काम गर्न र क्षमता देखाउन सक्ने उनी बताउँछन् । बुबा नरबहादुरले कमजोर आर्थिक अवस्थाका कारण ठूलो अस्पतालमा लगेर उपचार गर्न नसकिएको बताए ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: