२०७७ जेष्ठ १८ गते

समावेशी शिक्षानीति तयार, अपांगता भएका बालबालिकाको प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड

काठमाडौं । अपांगता भएका हरेक बालबालिकाको प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सरकारले औपचारिक, अनौपचारिक, खुला तथा दूरशिक्षा र निरन्तर सिकाइको व्यवस्था गर्ने भएको छ ।

अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ ले अपांगता भएका बालबालिकालाई प्रतिस्पर्धी बनाउन विभिन्न रणनीति र कार्यनीति तयार पारेको हो । अपांगता भएका नागरिकलाई गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र प्रतिस्पर्धी नागरिकका रूपमा तयार गर्ने समावेशी शिक्षा नीतिको उद्देश्य छ । अपांगता भएका सबै प्रकारका व्यक्तिका लागि अधिकारमुखी अवधारणाका आधारमा गुणस्तरीय शिक्षा सुनिश्चित गरी सक्षम र प्रतिस्पर्धी नागरिक तयार गर्न समावेशी शिक्षा नीति बनाइएको शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्सालले बताए । नीतिले अंगीकार गरेको कार्यक्रमलाई वार्षिक नीति र कार्यक्रममा समावेश गर्दै कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

यस्ता छन् रणनीति
समावेशी शिक्षानीतिले छात्रवृत्तिदेखि सहज रूपमा भर्नालगाएतको रणनीति र कार्यनीति बनाएको छ । अपांगता भएका बालबालिकाका लागि विभिन्न निकायबाट प्राप्त हुने छात्रवृत्तिलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, विद्यालय, विश्वविद्यालय तथा शिक्षालयका विभिन्न तहमा भर्ना गर्दा उनीहरूको शारीरिक, मानसिक, इन्द्रियजन्य र बौद्धिक क्षमताको लेखाजोखा गर्ने कुरा रणनीतिमा उल्लेख छ । यस्तै, प्रारम्भिक बाल शिक्षादेखि उच्च तहको शिक्षासम्म अपांगताको आवश्यकताअनुसार पहुँचयुक्त ढाँचामा बहुपाठ्य सामग्रीको व्यवस्थासहित विषय छनोटको अवसर सुनिश्चित गर्ने रणनीतिमा छ ।

प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षासम्म अपांगताको आवश्यकतामा आधारित पहुँचयुक्त ढाँचामा परीक्षा तथा मूल्यांकन प्रणाली समायोजन गर्ने, सबै सार्वजनिक, सामुदायिक तथा संस्थागत रूपमा सञ्चालित शैक्षिक संस्थाहरूलाई हिंसारहित र समावेशी संस्कृतिको मूल्य–मान्यताअनुकूल बनाउने रणनीति पनि मन्त्रालयले अघि सारेको छ । श्रमबजारको माग र अपांगताका विशिष्टताअनुसार विद्यालय तथा विश्वविद्यालयका प्राविधिक शिक्षामा भर्ना प्रक्रियालाई सहज बनाउने, पाठ्यक्रम र शैक्षिक सामग्रीहरू नवीनतम प्रविधिमा आधारित बनाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, पाठ्यक्रम, शिक्षक तयारी र संस्थागत संरचनाको पुनरावलोकन गर्ने, नवीनतम सूचना प्रविधिमा आधारित दक्ष मानवस्रोत विकास गर्नेलगायतका रणनीति अघि सारिएको छ ।

अपांगता भएका बालबालिकाको अवस्था
मुलुकभरि दृष्टिविहीन, बहिरा तथा सुस्तश्रवण र बौद्धिक अपांगता गरी तीन सय ८० स्रोत कक्षा, ३२ विशेष विद्यालयहरू र २२ एकीकृत विद्यालयहरू सञ्चालनमा रहेका छन् । अहिले नेपालमा प्रारम्भिक बाल शिक्षादेखि माध्यमिक तहसम्म विभिन्न किसिमका अपांगता भएका ७४ हजार आठ सय २९ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । नयाँपत्रिकामा खबर छ ।

Comments: