२०७७ जेष्ठ १६ गते

भुइँमै बसेर पढ्छन्


मकवानपुर । कठ्यांग्रिँदो जाडोमा कोठाभित्र पनि भुइँमै बसेर पढ्नुपर्ने बाध्यताले यहाँको एक विद्यालयका अधिकांश बालबालिका बिरामी हुने गरेका छन् । कालिकाटार ६ स्थित भवानी माविमा १ र २ कक्षामा अध्ययनरत बालबालिका बेन्च र टेबलको अभावमा भुइँमै बसेर पढ्न बाध्य छन् ।


चिसो मौसम त्यसमाथि भुइँमा बस्नुपर्दा अधिकांश बालबालिकालाई रुघाखोकी र झाडापखालाले सताउने गरेको छ । ‘बेन्च र टेबलको अभावले विद्यार्थीलाई भुइँमा राखेर पढाउनुपरेको,’ प्रधानाध्यापक सतराम साहले बताए, ‘स्कुलसँग बेन्च र टेबल बनाउने आर्थिक हैसियत छैन, विद्यार्थीसँग पैसा उठाएर बनाउन कानुनले दिँदैन, अन्य संघसंस्थाबाट सहयोग जुटेको छैन ।’

अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा ठूला कक्षाका विद्यार्थी बेन्च र टेबलमा बसेर पढ्ने गरे पनि एक र दुई कक्षाका १ सय २५ विद्यार्थी भुइँमै बस्न बाध्य छन् । विपन्न बस्तीको बीचमा रहेको उक्त विद्यालयको आर्थिक एवं भौतिक अवस्था अत्यन्त दयनीय छ । भूकम्पका कारण उक्त विद्यालयको भवन पनि चर्किएको छ । त्यही जोखिमयुक्त भवनमा विद्यार्थी अध्ययन गरिरहेका छन् । भूकम्पपश्चात निर्माण गरिएको बाँसको टहरा पनि भत्किसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: