२०७६ मंसिर २७ गते

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली

ईपाटी संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई विश्वकै लागि शैक्षिक गन्तव्य बनाउनुपर्ने बताएका छन् । अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ भन्दै उनले त्यसका निम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास गर्न जरुरी रहेको बताए ।


नेपाल परामर्श संघ(इक्यान)ले भृकुटिमण्डपमा आयोजना गरेको १२ औं इक्यान शैक्षिक मेलाको  बिहीबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले इक्यानले विद्यार्थीहरु विदेश पठाउने मात्रै नभइ अब विदेशी विद्यार्थीपनि अध्ययनका लागि नेपाल ल्याउन पहल गर्नुपर्ने बताए ।


उनले विदेशमा पढेर स्वदेश फर्किने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण भएको पनि बताए । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई पढिसकेपछि नेपाल फर्केर सम्बन्धित क्षेत्रमा काम गरी देश विकासमा लाग्न समेत मन्त्री ज्ञवालीको आग्रह थियो । उनले कन्सलटेन्सीले पनि सोही अनुसार काउन्सिलिङ गर्नुपर्नेमा जोड दिए ।


नेपाल बुद्धिजम अध्ययन गर्ने संसारकै सबैभन्दा उत्कृष्ट थलो बनाउन सकिने भन्दै उनले सांस्कृतिक, माउन्टेनियरिङ, आदिवासीय ज्ञानजस्ता खास–खास विषयको अध्ययन गर्ने गन्तव्य नेपाललाई बनाउनुपर्नेमा उनको धारणा थियो ।


कन्सलटेन्सीहरुले गुणस्तरीय शिक्षाको खोजीमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई अन्तर्राष्ट्रिय गुणस्तरीय विश्वविद्यालय र कलेजसँग जोड्ने पुलको काम गरेको उनको भनाइ थियो ।


कन्सलटेन्सीहरु पेशाका हिसाबले व्यवसायी भएपनि सेवा दिने उद्देश्य राख्नुपर्नेमा  मन्त्री ज्ञवालीको जोड थियो ।


उद्घाटन कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले नेपाललाई शैक्षिक हबको रुपमा स्थापित गर्नका लागि परराष्ट्र मन्त्रालयले कार्यदलको स्थापना गरेको जानकारी दिए ।  पाण्डेले स्वदेशमा होस् वा विदेशमा विद्यार्थीहरुलाई सुमुचित गर्न सहयोग गर्ने बताए ।


कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले आफुहरु विद्यार्थीलाई विदेश पठाउने मात्रै नभइ विदेशका विद्यार्थीहरु अध्ययनका लागि नेपाल ल्याउने प्रयासमा समेत रहेको स्पष्ट पारे । ‘मेलामा एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरूको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइनेछ,’ अध्यक्ष पाण्डेले भने ।


पाण्डेका अनुसार मेलामा स्वदेशी शैक्षिक परामर्शदाता र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधि सहभागी भएका साथै  मेलामा २ सय २६ भन्दा बढी स्टल तथा १७ वटा पेभिलियन रहेका अध्यक्ष पाण्डेले जानकारी दिए ।


शैक्षिक मेलामा, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क, भारत र चीनका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले परामर्श दिने इक्यानका उपाध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए ।


 मेला ४ दिनसम्म चल्ने मेलाको उद्घाटन समारोहमा  न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत, रुस, बेलायत तथा जापानका नेपालस्थित कूटनीतिक नियोगका राजदूत तथा प्रतिनिधि सहभागी थिए ।

Comments: