• परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षक तत्काल नहट्ने
    (ईपाटी संवाददाता)


  • भक्तपुर । परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षकहरु तत्काल नहट्ने भएका छन् । सरकारले उनीहरुलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने भएको हो ।


    यसअघि सरकारले ६/६ महिनामा करार गर्दै आएको थियो । यसपटक भने ३ महिना थप्न लागेको हो ।


    शिक्षा ऐनमा आन्तरिक परीक्षाको अन्तिम नतिजा आएसँगै असफल अस्थायी शिक्षकहरु स्वत्तः अवकास हुने व्यवस्था थियो । सोही अनुसार कतिपय जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुले परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई अवकाशको पत्र थमाउन शुरु गरेका थिए ।


    तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा ऐनको व्यवस्था विपरित अस्थायी शिक्षकहरुलाई पुनः करारमा नियुक्त गर्ने तयारी गरेको हो ।


    शिक्षक सेवा आयोगबाट छनौट भएका नयाँ शिक्षकको पदस्थापनासँगै कार्यरत करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने र त्यसबाट तत्काल विद्यालयमा रिक्त स्थिति आउने भन्दै केन्द्रले तीन महिनाका लागि अस्थायी शिक्षकहरुलाई करारमा पुनः नियुक्त गर्ने गृहकार्य शुरु गरेको हो ।


    केन्द्रका शिक्षक व्यवस्थापन शाखाका निर्देशक नगेन्द्र रेग्मीले आयोगको अन्तिम नतिजासँगै अस्थायी शिक्षकहरु स्वतः अवकाश भएकाले  विद्यालयमा शिक्षक रिक्त हुने अवस्था देखिएको जानकारी दिए ।


    शैक्षिक शत्रको मुख र कमसेकम यो आर्थिक वर्षको अन्तिमसम्म भएपनि विद्यालयमा शिक्षक खाली नहोस भनेर अस्थायी शिक्षकको म्याद थप गर्न लागिएको रेग्मीले जानकारी दिए ।


    अहिले पुराना शिक्षकलाई नै पुनः करारमा नियुक्त गर्ने र आउँदो साउनबाट अहिले आयोगद्वारा स्थायीका लागि छानिएका शिक्षकको पदस्थापना गर्ने केन्द्रको योजना रहेको रेग्मीले जानकारी दिए ।


    यसअघि नेपाल शिक्षक महासंघले समेत अस्थायी शिक्षक अवकाश हुँदा विद्यालयहरुमा शिक्षक अभाव हुने भएकाले तत्काल नहटाउन सरकारसँग आग्रह गरेको थियो ।


    उता शिक्षक सेवा आयोगले भने सबैतहको अन्तिम सूची केन्द्रमा पठाइसकेको जनाएको छ ।


    परीक्षा नरोजी अवकाश रोजेका र परीक्षामा स्थायी हुन नसकेका शिक्षकलाई सुविधा दिई विदाई गर्न १० अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने भएको छ । अहिले शिक्षक किताबखानासँग ५ अर्ब २५ करोड रुपैयाँ मौज्दात रहेको र बाँकी ५ अर्ब बजेट जुटाउने तयारीमा लागेको केन्द्रका निर्देशक रेग्मीले जानकारी दिए ।