• गाउँपालिकालाई बालबालिकाको ध्यानाकर्षण पत्र
    (महेश न्यौपाने/रोल्पा)


  • रोल्पाको त्रिवेणी गाउँपालिकाका बालबालिकाले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बालबालिकाको सर्वाेत्तम हितलाई प्राथमिकतामा राखी काम गर्न उनीहरुले  गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  


    स्थानीय बालक्लव सञ्जालको अगुवाइमा  बुझाएको २० बुदे ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बालबालिकाको क्षेत्रमा लगानी बढाएर कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरेका थिए ।


    स्थानीयतहले वार्षिक रुपमा विनियोजन गर्ने कुल बजेटको कम्तीमा २० प्रतिशत बालबालिकाको क्षेत्रमा विनियोजन गर्न उनीहरुले माग गरेका थिए ।
    गाउँपालिकामा बालबालिका र बालसञ्जालको कुरा सुन्ने पहिलो पटक अवसर  पाएको भन्दै अध्यक्ष वलीले बालबालिकाले बुझाएको ध्यानाकर्षण पत्रका बुँदाहरु गाउँपालिकाले कार्यान्वयन गर्न मुख्य प्राथमिकता दिने बताए । आउँदो गाउँपालिकाको बैठकले बालबालिकाको मागको सुनुवाइ गर्ने उनले प्रतिवद्धता जनाए ।


    बालबालिकाले बुझाएका बुँदाहरु बालअधिकारका लागि त्रिवेणी गाउँपालिकास्तरीय घोषणा पत्र जारी गर्दै दुई दिने बालभेलाबाट संयोजन गरिएका थिए ।
     त्रिवेणी गाउँपालिको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको आयोजनामा जुगारमा बालभेला गरिएको थियो ।


     गाउँपालिका स्तरीय बालक्लवका अध्यक्ष भुपेन्द्र घर्तीमगरले ध्यानाकर्षण पत्र पढी गाउँपालिका अध्यक्षलाई बुझाएका थिए ।  उक्त कार्यक्रमको सहजीकरण हुरेक फिल्ड कार्यालय जुगारका प्रमुख धरेन्द्र डाँगीले गरेका थिए ।


    ध्यानाकर्षण पत्रमा बालबालिका बिरुद्ध हुने सबै खाले हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, वेवास्ताको अन्त्य गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा समुदाय, विद्यालय, सार्वजनिक स्थलमा लागू हुने गरी विशेष नीति तयार गरी कार्यान्वयन गर्न, सबै विद्यालयमा गुनासो सुनुवाई संयन्त्रको प्रभावकारी कार्यान्वयन गर्न र गाउँपालिकामा बालमैत्री शाखाको स्थापना गर्न, बालमैत्री स्थानीय शासनयुक्त वडा तथा गाउँपालिका बनाउन आग्रह गरिएको छ ।


     ध्यानाकर्षण पत्रमा गाउँपालिकामा व्याप्त रहेको बालश्रम र बालविवाहलाई न्यूनीकरण गर्न, स्थानीयतहले वार्षिक रुपमा विनियोजन गर्ने कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा विनियोजन गरी बालबालिकाको अर्थपूर्र्ण सहभागितामा निर्माण भएका योजनाहरुको कार्यान्वयन गर्न गर्नुपर्ने लगायतका बुँदाहरु रहेका छन् ।


    त्यस्तै अंपाङ्गता भएका सबै बालबालिकाहरुलाई अपाङ्गता परिचयपत्र प्रदान गरी सहायता सामग्री सहित जीवन उपयोगी सीप दिई अनिवार्य विद्यालय पठाउने वातावरण सृजना गर्न आग्रह गरिएको छ ।


    सबै बालबालिकालाई विद्यालय भर्ना गरेर उनीहरुलाई टिकाउने र सिकाउने वातावरण सृजना गर्न वडा तथा गाउँ शिक्षा योजना मार्फत अनुगमन प्रणालीलाई व्यवस्थित गर्न, घर विद्यालय र समुदायमा बालबालिकाहरुलाई दण्ड दिने चलन अझै व्याप्त रहेकाले यसलाई निषेध गर्नका लागि पहल गरिदिन हुन सम्वन्धित सरोकारवालाहरुको ध्यानार्कषण बालबालिकाहरुले गराएका छन् ।


     विद्यालयहरुमा पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरु, बगंैचा र मन्दिरको व्यवस्था गरिदिनु हुन, विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक विषयहरुका लागि आवश्यक प्रयोगशाला र अभ्यासका लागि उचित सामग्रीहरुको उपलब्धता गराइदिनु हुन, विद्यालयहरुमा राजनीति दलद्वारा आफ्नो गतिविधिका लागि बालबालिकाहरुको प्रयोग र विद्यालय बन्द गरी पठनपाठनमा बाधा पुग्ने गरेकोले त्यस्ता गतिविधिहरुको निषेध गरी विद्यालय शान्ति क्षेत्र घोषणा र कार्यान्वयनका लागि बालबालिकाहरुले गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् ।


    बालबालिका र गाउँपालिकाबीच भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्याक्ष सावित्रा बुढा, प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्ती, गाउँपालिका विषयगत शाखा प्रतिनिधि, सेभ द चिल्ड्रेन, हुरेकका प्रतिनिधि र बाल सन्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।